८ साउन, काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नै हतारमा पार्टी एकता गर्नुभन्दा वामपन्थी शक्तिहरूबीच सहकार्य र कार्यगत एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
४८ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतको गहिरो समीक्षा नगरी गरिने एकता दिगो नहुने बताए । हतारमा एकता गरेर पछि पछुताउनुभन्दा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको रक्षाका लागि न्यूनतम साझा कार्यक्रम बनाएर सहकार्य गर्नु नै अहिलेको वस्तुपरक आवश्यकता भएको उनको भनाइ थियो ।
सम्बोधनका क्रममा प्रचण्डले स्पष्ट पार्दै भने, ‘अहिले नै हतारिएर पार्टी एउटै बनाउने स्थिति छैन, त्यता टाउको नदुखाऊँ । विचार र समीक्षाबिना एकता गर्यौँ भने फेरि झगडा सुरु भइहाल्छ।’ यद्यपि, इमानदारीका साथ सहकार्य र आन्दोलनका कार्यक्रम अघि बढाउँदै जाँदा भविष्यमा स्वतः एकताको आधार तयार हुन सक्ने धारणा उनले व्यक्त गरे ।
यसैगरी, प्रदेश सरकार गठन तथा सत्ता समीकरणका विषयमा बोल्दै प्रचण्डले आफूहरूको ध्यान प्रदेश सरकारमा जानेतर्फ नरहेको प्रस्ट पारे। नेपाली कांग्रेस र नेकपा (एमाले) ले नै बाँकी कार्यकालभरि प्रदेश सरकार सञ्चालन गरोस् भन्ने पक्षमा आफूहरू रहेको उनले बताए ।
तर, ती दुई दलबीच सहमति जुट्न नसकेर राजनीतिक गतिरोध उत्पन्न भएमा गाँठो फुकाउन र निकास दिन भने आफूहरू तयार रहने उनको दाबी थियो ।




















