Logo

 ९ साउन,काठमाडौं । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई स्वास्थ्य अवस्था जटिल भएपछि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पताल लगिएको छ।

धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको कोठा नम्बर २११ मा अनशनरत डा. केसीको शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले स्वास्थ्य परीक्षण गरेका थिए।

परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रगतमा चिनीको मात्रा ५० मिलिग्राम प्रतिडेसिलिटर पाइएको थियो। सुगरको मात्रा अत्यन्त न्यून देखिएपछि स्वास्थ्य जोखिम बढेको चिकित्सकहरूले बताएका थिए।

चिकित्सकहरूले तत्काल आईसीयूमा भर्ना गरेर उपचार गर्न सुझाव दिएपछि उनलाई अस्पताल लगिएको हो।

डा. केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे माग राख्दै धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन बसेका थिए। उनका सहयोगी अमृत जैशीका अनुसार स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मांसपेशी बाउँडिने, बोल्न कठिन हुने र खुट्टाको शल्यक्रियाका कारण हिँडडुल गर्नसमेत समस्या भएको थियो।

यसैबीच, सरकारले डा. केसीका माग सम्बोधन गर्न तयार रहेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीका सहयोगी अमृत जैशीसँग छलफल गरेका थिए भने राति करिब ११ बजे डा. केसीसँगै फोन संवाद गरेका थिए।

संवादका क्रममा मन्त्री पोखरेलले माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए। डा. केसीले पाँच बुँदे मागसँगै सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु तथा स्वार्थ प्रेरित रूपमा गरिएको उपकुलपति र रजिस्ट्रार नियुक्ति खारेजीलाई मुख्य मागका रूपमा अघि सारेका छन्।

डा. केसीका सहयोगी डा. जैशीका अनुसार मन्त्री पोखरेलले माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने र सम्भव भएमा आफैँ धनगढी आएर छलफल गर्ने बताएका छन्।


सम्बन्धित समाचार