Logo

९ साउन,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। घटनापछि उपचारमा लापरबाही भएको आरोप लगाउँदै आक्रोशित आफन्त र स्थानीयले प्रदर्शन गर्नुका साथै आकस्मिक कक्षमा तोडफोड गरेका छन्।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेल रहेका छन्। उनको शनिबार उपचारका क्रममा मृत्यु भएको हो।

मृतकका आफन्तले अक्सिजनमा रहेका बिरामीलाई उपचारका लागि लैजाँदा अक्सिजनको आपूर्ति हटाएर लापरबाही गरिएको र त्यसकै कारण बिरामीको ज्यान गएको आरोप लगाएका छन्।

घटनापछि आक्रोशित आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी होहल्ला तथा तोडफोड गरेका थिए। सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएपछि पनि अस्पताल बाहिर प्रदर्शन जारी रहेकाले केहीबेर अस्पताल परिसर तनावग्रस्त बनेको थियो।

घटनापछि स्थानीय प्रशासनको समन्वयमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, पीडित परिवार, जनप्रतिनिधि तथा सम्बन्धित पक्षबीच भएको वार्ताबाट छानबिन समिति गठन गर्ने सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृतको नेतृत्वमा गठन गरिएको समितिमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि सदस्य रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी चक्रबहादुर मल्लका अनुसार समितिले सात दिनभित्र घटनाबारे प्रतिवेदन बुझाउनेछ। सोही प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ।

त्यसैगरी, घटनाका क्रममा आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्कालका लागि कामबाट रोक लगाउने र अस्पतालको सेवा–प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका कदम चाल्ने सहमति पनि भएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार