९ साउन,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र राजनीतिक सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ।
शनिबार भएको सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।
प्रदेशसभामा पछिल्लो समय देखिएको बजेट निर्माणसम्बन्धी विवाद, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्या समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन र प्रादेशिक विकासलाई गति दिने उद्देश्यले दुई दलबीच सहमति भएको जनाइएको छ।
सहमति अनुसार प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने निर्णय गरिएको छ। संयुक्त सरकारमध्ये कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ।
त्यस्तै, मधेस प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनको विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत छलफल गरी नेतृत्व र सरकारमा सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख छ।
दुई दलबीचको सहमतिले प्रदेश सरकार गठनमा देखिएको राजनीतिक अन्योल अन्त्य गर्ने र प्रदेश तहमा सहकार्यको नयाँ आधार तयार गर्ने दाबी गरिएको छ।





















