९ साउन,काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन्। तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कारभित्र उनको शव भेटिएको हो।
मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–९, शुभकामना चोक निवासी ४५ वर्षीया रश्मी रिजाल रहेकी छन्। उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’ पदमा कार्यरत थिइन्।
पारिवारिक स्रोतका अनुसार रिजाल साउन ८ गते बिहान ७ बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। शनिबार दिउँसो करिब १ बजे बीएई ०४१० नम्बरको विद्युतीय कारको पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
कारभित्रै जलेको अवस्थामा शव भेटिएकाले घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।
घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको एसपी भट्टराईले बताएका छन्।



















