९ साउन,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भोजपुर जिल्ला कमिटीले भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पा र वडा अध्यक्ष नवीन प्रधानसहित केही नेता–कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
पार्टीको नीति, सिद्धान्त र संगठनात्मक अनुशासनविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै एमाले भोजपुरले उपमेयर शेर्पालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न तथा उपमेयर पदबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाउन एमाले कोशी प्रदेश कमिटीसमक्ष सिफारिस गरेको जनाएको छ।
त्यस्तै, एमाले भोजपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा भोजपुर नगरपालिका–८ का वडा अध्यक्ष नवीन प्रधानलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ। उनलाई वडा अध्यक्ष पदबाट हटाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको एमाले भोजपुरले जनाएको छ।
एमाले भोजपुरले विमल रणपहेली, सुमन प्रधान, रेनुका भुजेल, कोपिला राई, बाबुराम तामाङ र दिपेन दर्नाललाई समेत पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जनाएको छ।
जिल्ला अध्यक्ष मकरबहादुर खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, जनप्रतिनिधिको पदको दुरुपयोग गर्ने तथा अन्य राजनीतिक दलमा प्रवेश गराउन सक्रिय भूमिका खेलेको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख छ।
एमाले भोजपुरले कारबाही प्रक्रिया अघि बढाएका उपमेयर शेर्पा, वडा अध्यक्ष प्रधानलगायतका नेताहरू शुक्रबार भोजपुरमा आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए। उनीहरू श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ र भोजपुरका प्रतिनिधिसभा सदस्य ध्रुव राईको उपस्थितिमा उक्त पार्टीमा प्रवेश गरेका हुन्।




















