Logo

फाइल तस्बिर

११ साउन,वीरगञ्ज । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीस्थित भित्री सडकमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा १५ वर्षीय किशोरको मृत्यु भएको छ भने अर्का एक किशोर घाइते भएका छन्।

प्रहरीका अनुसार भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल बिहान करिब ८:२५ बजे आफैं अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–३ निवासी अजित मंसुरका करिब १५ वर्षीय छोरा सोयब मंसुर गम्भीर घाइते भएका थिए। मोटरसाइकलको पछाडि सवार साबिर हुसेन अन्सारीका करिब १५ वर्षीय छोरा साहिद अन्सारीको हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते दुवैलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ९:०० बजे चिकित्सकले ईसीजी परीक्षणपछि चालक सोयब मंसुरलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गंगापुर, बाराबाट प्रहरी निरीक्षक महमद हुसेन देवानको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

मृतकको शव हाल प्रादेशिक अस्पताल, कलैयामा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै