११ साउन, काठमाडौं । नागढुङ्गा–सिस्नेरी सुरुङमार्ग उदघाट्न हुँदै गर्दा काठमाडौंको चन्द्रागिरि नगरपालिकाका स्थानीय बासिन्दाले पनि आफ्ना माग हुनुपर्ने भन्दै प्रदर्शन सुरु गरेका छन् ।
नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा स्थानीयले प्रदर्शन गरेका हुन् ।उनीहरुले आयोजनाबाट प्रभावित स्थानीयले सुरक्षाका लागि आकाशेपुल निर्माण गर्नुपर्ने, सडक पेटी विस्तार गर्नुपर्ने, पैदलयात्रुको सहजताका लागि पर्याप्त जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको व्यवस्था गर्नुपर्ने, आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको सुनिश्चितता हुनुपर्ने लगायतका माग राखेका छन् ।
स्थानीयले फ्लाई ओभर निर्माणको काम तत्काल अघि बढाउनुपर्ने र त्यसको नाम ‘किसिपिडी फ्लाई ओभर’ राख्नुपर्ने माग समेत राख्दै आएका छन्
सुरुङमार्ग उदघाटनका लागि आएका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अगाडि उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । मन्त्री लम्सालले संघर्ष समितिका प्रतिनिधिहरुलाई भेटेर माग सम्बोधनको आश्वासन दिएको बताएका छन् ।
अहिले मन्त्री लम्सालले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उदघाटन गरेका गरिसकेका छन् ।




















