११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवाद र त्यसपछिको झडपबारे सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सिंहदरबारमा बसेको आपत्कालीन बैठकले मन्त्रालयका सहसचिवको संयोजकत्वमा छानबिन समिति बनाउने निर्णय गरेको हो ।
बिहान ९ बजेदेखि सुरु भएको उक्त बैठकमा गृहसचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू तथा गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
कसरी सुरु भयो विवाद ?
प्रारम्भिक जानकारी अनुसार देवानगञ्जको कप्तानगञ्ज क्षेत्रमा रहेको मन्दिरमा हिन्दु समुदायले ठूलो स्वरमा डिजे बजाएपछि सामान्य विवाद सुरु भएको थियो । त्यसअघि सोही क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दु धर्मको झण्डा राखिएको विषयले दुवै पक्षबीच तनाव बढाएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।
विवादले उग्र रूप लिएपछि आइतबार राति दुई पक्षबीच प्रत्यक्ष झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर तथा गोली चलाउनुपरेको थियो । सो क्रममा सुरक्षाकर्मीको गोली लागेर स्थानीय ३५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीसहित स्थानीयवासीहरू समेत घाइते भएका छन् ।
छानबिन समितिको संरचना र कार्यदेश
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले दिएको जानकारी अनुसार गठित समितिमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहेका छन् । समितिमा सुरक्षा निकायका प्रतिनिधिहरूका साथै ऊर्जा मन्त्रालयका प्रतिनिधि समेत समावेश गरिनेछ ।
समितिको नेतृत्व सम्हाल्ने सहसचिवको नाम भने चाँडै टुङ्गो लगाइनेछ । समितिले घटनास्थलमा पुगेर झडप हुनुको मुख्य कारण, सुरक्षा निकायको भूमिका र परिस्थितिलाई उग्र बनाउन योगदान पुर्याउने तत्वहरूबारे सूक्ष्म अध्ययन गरी मन्त्रालयसमक्ष प्रतिवेदन पेस गर्नेछ ।




















