Logo

१२ साउन,विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र त्यसक्रममा सशस्त्र प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको घटनाको छानबिन गर्न गठित सरकारी टोली घटनास्थल पुगेको छ। गृहमन्त्रालयले गठन गरेको पाँच सदस्यीय समितिले मंगलबारदेखि औपचारिक रूपमा छानबिन सुरु गरेको हो।

गृहमन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

समितिका सदस्य प्रहरी उपरीक्षक विपीन रेग्मीले विराटनगरका विभिन्न अस्पतालमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए। साथै, जिल्ला प्रशासन कार्यालय सुनसरीमा घटनासँग सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको जनाइएको छ।

आइतबार राति भएको झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको थियो भने प्रहरीसहित २४ जना घाइते भएका थिए।

घटनापछि सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे तथा सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेलगायतको सरुवा गरिएको छ। प्रदर्शनकारीहरूले घटनालगत्तै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए।

सरकारले सम्बन्धित प्रहरी अधिकारीहरूको सरुवा गरे पनि अवस्था अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, इनरुवा नगरपालिका लगायतका क्षेत्रमा घटनाको विरोधमा प्रदर्शन जारी रहेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शान्ति–सुरक्षा कायम गर्न स्थानीय समुदाय, सरोकारवाला र सुरक्षा निकायबीच निरन्तर संवाद भइरहेको जानकारी दिँदै अवस्था सामान्य बनाउन आवश्यक पहल भइरहेको बताएका छन्।


सम्बन्धित समाचार