६ जेठ,वीरगञ्ज । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्म बाबु साहेब बलामीको निर्देशनमा बन्न लागेको ‘देव वाणी’को मुहूर्त गरिएको छ । शुक्रबार बिहान काठमाडौंस्थित भद्रकाली मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मका कलाकारहरु रविन्द्र झा, कुन्दन भारद्वाज र अनुजा लेप्चाले मुहूर्त सट दिएका थिए । सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा खिचिने फिल्म आइतबारबाट फ्लोरमा जानेछ । निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी भाषामा बन्ने जानकारी दिए । फिल्मलाई भारतका हलमा प्रदर्शन गर्ने उनको योजना छ ।
फिल्ममा कुन्दन भारद्वाज, सुनिल थापा, ध्रुब कोइराला, अनुजा लेप्चा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय रहनेछ । यो फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।
हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको प्रस्तुतकर्ता मौसम पौडेल हुन् भने निर्मातामा मिना खड्का र हिराबहादुर लेप्चा छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । ‘देव वाणी’बाट बाबु बलामी लामो समयपछि निर्देशनमा फर्किएका हुन् ।