Logo

७ जेठ,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकामा बालबालिकामा कुपोषण बढ्दै गएको छ । चालु आर्थिक वर्ष ०७९÷८० को १० महिनाको अवधिमा १ सय ७४ जना बालबालिकामा कडा खालको कुपोषण फेला परेको हो ।

महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले ती कुपोषित बालबालिकामध्ये ५६ जनालाई महानगरले सञ्चालन गरेको ओटिसी सेन्टरमा भर्ना गरी उपचार गरिएको बताउनुभयो । वीरगञ्ज महानगरमा गत आर्थिक वर्ष ०७८÷०७९ मा ४९ जना बालबालिकामा कुुपोषण फेला परेको थियो ।

गर्भवती हुँदा पोषणयुक्त खानाको अभाव, बालविवाहका कारण सानै उमेरमा बच्चा जन्माउनु, आमाले बच्चाको स्वास्थ्यमा ध्यान नदिनु, सही तरिकाले स्तनपान नगराउनु लगायतका कारण बालबालिकामा कुपोषण बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कुुपोषणको समस्यालाई न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र स्वास्थ्य स्वयंसेविका मार्फत वडा–वडामा चेतनामूलक कार्यक्रमसँगै बालबालिका तथा सुुत्केरी आमालाई बालभिट्टा, लिटोलगायतका पोषणयुक्त खाना र गर्भवतीलाई आइरन चक्की वितरण गर्दै आएको प्रमुख कुर्मीको भनाई छ ।

कुपोषण हुँदा बच्चा दुब्लाएर ख्याउटे हुने, आँखाभित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने, लामो समयसम्म निदाउने, झगडा गर्नेजस्ता लक्षण देखिने बालरोग विशेषज्ञ डा.बिकास गिरीले बताउनुभयो ।

पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई आवश्यक स्वास्थ्य जाँचसहित पोषणयुक्त खानाका लागि महानगरले आर्थिक वर्ष ०७६÷७७ देखि नै वीरगञ्ज स्वास्थ्य चौकीसहित बगही स्वास्थ्यचौकी र सिर्सिया स्वास्थ्यचौकीमा ओटिसी सेन्टर सञ्चालन गर्दै आएको छ ।


सम्बन्धित समाचार