Logo

२१ असार,काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको निस्कर्ष गठबन्धनको रहेको बताउनु भयो ।

उहाँले बैठकमा गठबन्धनका दलहरुको छलफलबाट राजीनामा दिनु नपर्ने निस्कर्ष निकालिएको बताउनु भयो ।भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो ।

यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर बुधबार संसद बैठक अवरुद्ध गरेको थियो । प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने एमालेको अडान छ ।

गठबन्धनको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर,जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु सहभागी थिए ।


सम्बन्धित समाचार