Logo

२१ असार,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबारपनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।हालै प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो ।

यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर बुधबार पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको थियो । प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने एमालेको अडान छ ।प्रधानमन्त्री दाहालले गत सोमबार नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहबारे लेखेको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताउनुभएको थियो ।

यसै बिषयलाई लिएर एमालेले विरोध गरेको हो । प्रधानमन्त्रीको भनाई गैरजिम्मेवार रहेको एमालेको दाबी छ ।बिहिबार एमालेले बैठक अवरुद्ध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले शुक्रबार १२ बजेर २९ मिनेटमा बैठक बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित गर्नुभयो ।

उता सत्ता गठबन्धनको बिहिबार बसेको बैठकले एमालेले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । कुनै बेलाको प्रसंगलाई लिएर बोलिएको कुरालाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको गठबन्धनको निष्कर्ष छ । बुधबार पनि एमालेले प्रतिनिधि र राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको थियो ।


सम्बन्धित समाचार