Logo

२७ असार, वीरगञ्ज । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको शव केही श्रद्धान्जली सभाको लागि पेरिसडाडाँमा राखिने भएको छ ।

सिता दाहालको निधन प्रति नेकपा माओवादी केन्द्रले शोक व्यक्त गरेको छ । पार्टीका महासचिव देवप्रसाद गुरुङ ले आज एक विज्ञप्ती जारी गर्दै पार्टीका सल्लाहकार दाहालको निधन भएकोमा सिंगो पार्टी स्तब्ध भएको जनाएको छ ।

सीता दाहालको जीवनी

वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिनुभएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन विताउनुभएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लोसमय उहाँ पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आउनुभएको थियो ।

भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर हुनुहुन्छ भने अर्की छोरी गंगा दाहाल प्रधानमन्त्रीको स्वकिय सचिवको भूमिकामा हुनुहुन्छ ।

दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने कार्यक्रम रहेको छ ।

माओवादी केन्द्रले सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको जनाएको छ । महासचिव देवप्रसाद गुरुङले जारी गरेको विज्ञप्तीमा स्वर्गीय दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनुभएको उल्लेख गरिएको छ।

सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असिमीत समपर्ण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ विज्ञप्तीमा भनिएको छ ।

सीता दाहालले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिंगो पार्टी उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड प्रचण्ड लगायत सिंगो परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा हार्दिक अपील गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।


सम्बन्धित समाचार