Logo

११ मंसिर,ठोरी । पर्साको ठोरी गाउँपालिकामा एकजना वृद्धको हत्या भएको छ । ठोरी गापा–२ गौतमनगरका ८२ वर्षीय लक्ष्मण लामाको आईतबार हत्या भएको हो । उनका नाति ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठीले प्रहार गरी वृद्धको हत्या गरेको इलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

स्थानीयको भनाई अनुसार घरनजीकै छिमेकीको घरमा छोरीका छोरा (नाति) खड्काले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुगेका थिए । उनले नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका खड्काले हजुरबुबा लक्ष्मणमाथि लाठी प्रहार गरेका थिए । लाठी प्रहारबाट लक्ष्मण बेहोस भएर ढल्नुभएको थियो ।

उहाँको टाउकोमा गम्भीर चोट लागेर अचेत भएपछि उपचारको लागि ठोरी गापा–२ स्थित स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । घटनापश्चात् गाउँलेहरूले लुकेको अवस्थामा खड्कालाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

वृद्धको शव शल्यपरीक्षणको लागि नारायणी अस्पताल वीरगंज ल्याईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 


सम्बन्धित समाचार