Logo

११ मंसिर,वीरगञ्ज । आज गुरु नानक जन्मजयन्ती । सिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइन्छ । विविध कार्यक्रमको आयोजना गरी नेपालमा पनि आज गुरु नानक जन्मजयन्ती मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो ।

गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई निशुल्क भोजन गराइने भएको छ । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ ।

यस दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ । सिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले भेदभाव नगरी निःशुल्क सामुदायिक भोजन गर्ने ‘लंगर परम्परा’ को थालनी गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार