Logo

२१ मंसिर,वीरगञ्ज । बारा कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार हत्याकाण्डको आज ३८ दिन भयो ।
तर अहिलेसम्म बारा प्रहरीले मुख्य अपराधी र मुख्य योजनाकारलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको मात्रै प्रतिक्रिया दिँदै आइरहेको छ ।

‘हामी अनुसन्धानमै छौं,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख सुरेश काफ्ले भने, ‘हत्याको मिहिन ढंगले अनुसन्धान चलिरहेको छ, धेरैसंग सोधपुछ पनि चलिरहेको छ । अनुसन्धान एकदम नजिक छ, चाँडै पत्रकार सम्मेलन गर्ने छौं ।’

बारा प्रहरीबाट यी प्रतिक्रियाहरु आउन थालेको पनि आज ३८ दिन भयो । घटना भएलगत्तै बारा प्रहरीले सहायक भूमिकामा रहेकाहरुलाई पक्राउ गरी स्वर्णकार घटनाको अनुसन्धानमा प्रहरी नजिक पुगिसकेको भन्दै तामझामका साथ पत्रकार सम्मेलन गरेको थियो ।

त्यही पत्रकार सम्मेलनबाट बाराका एसपी काफ्लेले उद्घोष गर्दै भनेका थिए– अहिले पक्राउ परेकाहरु सहयोगी मात्रै हुन्, बाँकीको पहिचना भइसकेको छ । ती व्यक्तिहरुलाई पनि उठाउने कार्यमा सक्रियता बढाइएको छ ।

सडकमा न्याय माग्नेहरु

एसपी काफ्ले नै यस्तो भनिसकेपछि बारा बासी ढुक्क थिए । तर उनको यो भनाइमा दम नदेखिएपछि आहिले बाराबासीहरु एसपी काफ्लेको विरोध मात्रै गरिरहेका छैनन्, न्याय पाउनको लागि चरणबद्ध आन्दोलनको घोषणा नै गरिसकेका छन् ।

यसअघि आफन्तले वास्तविक दोषीहरु पक्राउ नपरेको भन्दै विभिन्न किसिमका आन्दोलनहरु गर्दै आएका थिए । उनीहरुको आन्दोलनलाई प्रहरीले बेवास्ता गर्दै आइरहेको थियो ।
तर अब उनीहरुसंगै थप आन्दोलनका कार्यक्रमहरु गर्ने भनेर प्याबसन र नेपाल प्याबसनले संयुक्त टोलीले ८ बुँदे आन्दोलनको कार्यक्रम गर्ने भनेर सार्वजनिक गरिसकेको छ ।

यी २ वटै संस्थाहरुले बाराका प्रमुख जिल्ला अधिकारी जानकारी गराउँदै आफ्नो आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
त्यस अन्तर्गत हिजो पहिलो दिन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन–प्याब्सन) बाराले कलैयामा विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।

यसैगरी भोली शुक्रबार र्‍याली र कोण सभा, शनिबार २ घण्टा यातायात र बजार बन्द गर्ने, आइतबार ४ घण्टा यातायात ठप्प पार्ने, सोमबारदेखि जिल्ला भरीका स्कुल अनिश्चितकालका लागी बन्द गर्ने, मंगलबारदेखि प्रदेशभरिका र बुधबारदेखि केन्द्रभरिका स्कुल अनिश्चितकालका लागि बन्द गर्ने नेश्नल प्याबसन बाराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले तत्काल दोषीलाई पक्राउ नगरे सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ ।

विरोधसभामा एन–प्याब्सन, बाराका अध्यक्ष प्रभुलाल कुशवाहाले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीले विद्यालयकै शिक्षकलाई फसाउनु र दोषीलाई उन्मुक्ति दिनु गलत भएको उल्लेख पनि गरेका छन् ।

दोषीलाई उम्काएको र निर्दोषलाई फसाएको भन्दै स्वार्णकार परिवारसहित विभिन्न संस्थाले बारामा दिनहुँ विरोध जनाउँदै आइरहेका छन् ।
तैपनि बारा प्रहरी कानमा तेल हालेर बसै झै गरेको देखिन्छ ।

किनभने, हत्या जस्तो गम्भीर प्रकृतिको अपराधमा बारा प्रहरीले अपराधीलाई समाउनुको साटो खाली आरोप प्रत्यारोप लागेको तथ्यबाट प्रमाणित भइरहेको छ ।

जानौ त्यो आरोप–प्रत्यारोपबारे ।

पहिलो आरोप, हत्या भएपछि बारा प्रहरीले स्वर्णकारमाथि पहिलो आरोप लगायो–प्रेम सम्बन्धको । त्यो भनेको अर्थ स्वर्णकार र राधाबीच प्रेम सम्बन्ध थियो, जुन सम्बन्धका कारण यो घटना भयो भन्दै प्रतिक्रिया दिन थाल्यो । त्यसपछि बारा प्रशासन प्रतिक्रियामा मात्रै सीमित रहेन, पत्रकार सम्मेलन गरेर पुष्टि नै गर्‍यो । जहाँ प्रहरीले ठोकुवा गरेर भन्यो– विवाहेत्तर प्रेम सम्बन्ध नै हत्याको जड हो ।

प्रहरीको यो पहिलो लगाएपछि यही मनभिन्नता सुरु भयो, जसकारण पीडितका परिवारजनले त्यही बेला आफ्नो घरबाट पत्रकार सम्मेलन गरेर भन्नु पर्‍यो–बारा प्रहरीले हाम्रो परिवारको इज्जतसंग खेलवाड गरिरहेको छ ।

परिवारजनले यसरी प्रहरीमाथि प्रतिक्रिया दिइसकेपछि यो विषय झन गम्भीर बन्दै गयो । अनि प्रहरी र पीडितको परिवारबीच दूरी पनि बढ्दै गयो ।
घटनाक्रमले के देखाउँछ भने यसरी परिवारजनले प्रहरी आरोपको खण्डन गरिसकेपछि बारा प्रहरी आफ्नो आरोप सिद्ध गर्नतर्फ जुटयो ।

त्यही दौरान अनुसन्धानको क्रममा बारा प्रहरीलाई आफ्नो आरोप पुष्टि गर्न राधा र रुपेशका केही फुटेज र च्याटिङ फेला पर्‍यो ।
स्रोत भन्छ–‘बारा प्रहरी यसैलाई अहिले हतियार बनाएर पीडित परिवारलाई धम्काउने पनि गरेको छ, भिडिओ सार्वजनिक गरिदिने भनेर थ्रेट दिइरहन्छ । ताकी अनुसन्धान प्रभावित बनिरहोस ।’

किन यस्तो गर्दैछ बारा प्रहरी ?

बारा प्रहरी यसरी आरोप–प्रत्यारोपमा उत्रिनुको मुख्य कारण भनेको आफ्नो गल्तीलाई ढाकछोप गर्नका लागि हो ।
कारण– हत्या जस्तो जघन्य प्रकृतिको अपराधमा प्रहरीको भयंकर लापरबाही देखिएको छ ।

प्रहरी अधिकारी नै स्वयम भन्छन्,‘स्वर्णकार हत्याकाण्डमा प्रहरीले गम्भीर चुक गरेको छ, अनर्गल प्रचार गरेको छ । यतिमात्र होइन अनुसन्धानमा गोप्य राख्नुपर्ने नामहरु सार्वजनिक गरदिएको छ, जुन प्रहरीको गम्भीर त्रुटि हो ।’

हो, यही आफ्नो त्रुटिलाई लुकाउनको लागि बारा प्रहरी यो सब हत्काण्डा अपनाइरहेको पूर्वप्रहरी अधिकारीहरुको बुझाइ छ ।
उनीहरु भन्छन्,‘अनुसन्धान चलिरहेको घटनामा पीडितको बारोमा अनर्गल प्रचार गर्नुहुँदैन्थ्यो, त्यो सबै कुरा बरु आफ्नो मिसिलमा राखे हुन्थ्यो ।

साथै अनुसन्धानका गोप्य कुराहरु पनि सार्वजनिक गर्नु हुँदैन्थ्यो, जुन यहाँ भएको देखियो । प्रहरीको यही लापरबाहीका कारण अनुसन्धान कमजोर बन्दै गएको र पीडितलाइ न्याय मिल्दैन भनेर आन्दोलनका कार्यक्रमहरु घोषणा भइरहेका छन् ।

’ मूलतः यही लापरबाहीका कारणले बारा प्रहरीलाई सकस भइरहेको उनीहरुको बुझाइ छ ।
कात्तिक १३ गते बाल एकता बोर्डिङ स्कूलका प्रधानाध्यापक कलैया–६ निवासी रूपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या गरिएको थियो ।


सम्बन्धित समाचार