Logo

६ माघ,वीरगञ्ज । बाक्लो हुस्सु र शीतलहरका कारण बारा पर्सालगायत तराई मधेशको जनजीवन कष्टकर बनेको छ ।

आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ र शीतलहरसँगै चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको हो । माघको सुरु सातादेखि पर्सा लगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो । केही दिन अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो । तर अहिले दिनभर बाक्लो हुस्सु लाग्न थालेको छ ।

कठ्याङ्ग्रिदो चिसोमा पराल ओछ्याएर सुत्न बाध्य दलित तथा अतिविपन्न परिवार प्रभावित भएका छन् । दलित तथा गरिब परिवार अहिले त्रिपालमुनि, खपटाले छानएको घर तथा परालको भरमा रात बिताउन बाध्य छन् । परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको बाराका नन्दु साहले बताउनुभयो । पर्साकी अमृता पाठकले जाडोका कारण दैनिकी कष्टकर बनेको बताउनुभयो । उहाँले चिसो एक्कासी बढ्दा घर बाहिर निस्किनै नसकेको जानकारी दिनुभयो ।

प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ ।

अत्यधिक चिसो तथा शीतलहरका कारण श्वाप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लिनिकहरुमा समेत बिरामीको चाँप बढेको छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट प्रभावित छन् ।

अत्यधिक चिसोका कारण पशुचौपायालाई समेत समस्या भएको छ । चिसोबाट जोगाउन पशुचौपायाका लागि गोठमै आगो बाल्ने तथा बोरा ओढाउने गरिएको छ ।


सम्बन्धित समाचार