२६ जेठ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना अनुत्तरित दाबीहरूमाथि पत्रकारले तथ्य र प्रमाण माग गरेपछि पुनः एकपटक सञ्चारमाध्यममाथि भड्किएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क एनबीसी को चर्चित कार्यक्रम ‘मिट द प्रेस’ का लागि पत्रकार क्रिस्टन वेल्करसँग अन्तर्वार्ता दिइरहेका बेला राष्ट्रपति ट्रम्प बीचमै माइक निकालेर बाहिरिएका हुन् ।
आइतबार राति प्रसारण भएको सो अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचन र हालै क्यालिफोर्नियामा भइरहेको प्राथमिक (प्राइमरी) चुनाव दुवै ‘धाँधलीपूर्ण’ भएको पुराना अडानहरू बिनाप्रमाण दोहोर्याएका थिए । सोही क्रममा पत्रकार वेल्करले ती दाबीहरूको स्वतन्त्र र कानुनी प्रमाण माग गरेपछि ट्रम्प एकाएक आक्रोशित बनेका हुन् ।
अन्तर्वार्ताका क्रममा क्यालिफोर्नियामा चार दिन बितिसक्दा पनि मतपरिणाम पूर्ण रूपमा घोषणा नभएको विषय उठाउँदै ट्रम्पले त्यहाँ ‘छलछाम र धाँधली’ भइरहेको आरोप लगाएका थिए । पत्रकार वेल्करले त्यसको प्रमाण माग्दा ट्रम्पले आक्रोशित हुँदै जवाफ दिए, “मैले केवल हेर्न र सुन्नु मात्र छ।” वेल्करले तत्कालै त्यसलाई प्रतिवाद गर्दै भनिन्, “तर यो त कुनै कानुनी प्रमाण होइन नि।”
त्यसपछि आक्रोशको सीमा नाघेका ट्रम्पले सञ्चारमाध्यमहरूलाई ‘बेइमान, पूर्वाग्रही र मूर्ख’ को संज्ञा दिए। उनले एनबीसीसहितका मूलधारे सञ्चारमाध्यमले सत्य लुकाएको आरोप लगाउँदै भने, “माफ गर्नुहोला, यस कुराकानीलाई यहीँ सकौँ। मेरो लागि धेरै नै भयो।” यति भन्दै उनी अन्तर्वार्ताको सेटबाट जुरुक्क उठेर हिँडेका थिए ।
विस्कन्सिनको एक फार्म हाउसको गोदाममा छायाङ्कनएनबीसी न्यूजका अनुसार यो विशेष अन्तर्वार्ता विस्कन्सिन राज्यमा किसानहरूको एक कार्यक्रम (एग्रिकल्चरल राउन्डटेबल) का बिच तयार पारिएको थियो । एक फार्म हाउसको धातुको गोदाम (मेटल बार्न) भित्र ट्रयाक्टरको छेउमा बसेर गरिएको सो छायाङ्कनका क्रममा मुसलधारे वर्षा र प्रतिकूल मौसमका कारण पटक-पटक प्राविधिक अवरोध समेत सिर्जना भएको थियो। प्रतिकूल मौसमका बाबजुद करिब ५० मिनेटसम्म संवाद चलेपछि मात्र ट्रम्पले अन्तर्वार्ता बीचमै भङ्ग गरेका थिए ।
अन्तर्वार्ताको सुरुवाती चरण भने मुख्य गरी इरानसँग जारी तनाव र भूराजनीतिक युद्धको विषयमा केन्द्रित थियो । पत्रकार वेल्करको प्रश्नमा ट्रम्पले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउनबाट रोक्न अमेरिकी सैन्य वा रणनीतिक कारबाही आवश्यक रहेको पुरानै अडान राखेका थिए ।
यसका साथै, सन् २०२१ जनवरी ६ को क्यापिटल हिल आक्रमणमा संलग्न भई दोषी ठहरिएकाहरूलाई ट्रम्पको विवादित ‘एन्टी–वेपनाइजेसन फण्ड’ (प्रणालीगत क्षतिपूर्ति कोष) बाट रकम दिइने वा नदिइने भन्ने विषयमा पनि वेल्करले ट्रम्पलाई र्याखर्याख्ती पारेकी थिइन् ।
ट्रम्पले ती दोषीहरूलाई बाइडेन प्रशासनले अन्यायपूर्वक फसाएको दाबी गरे पनि करदाताको रकम उनीहरूलाई दिने कि नदिने भन्नेमा स्पष्ट जवाफ दिएनन् । तथ्यमा आधारित प्रश्नहरू तेर्सिन थालेपछि सधैँझैँ उनी मिडियामाथि नै खनिएर अन्तर्वार्ताबाट भागेका हुन्, जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

















