Logo

१८ फागुन,वीरगञ्ज । अहिले विवाहको मौसम चलिरहेको छ । विवाह भनेको स्त्री र पुरुषबिचमा पतिपत्नीको सम्बन्धमा कायम गराउने धार्मिक, सामाजिक कृत्य हो ।
तर पछिल्लो समय विवाहको नाममा शक्ति प्रदर्शन गरेर फजुल खर्च गर्ने विकृति मौलाउँदै गइरहेको छ । त्यसका केही उदाहरणहरु हेरौं ।

उदाहरण–१
गएको माघ तेस्रो साता बीरगन्ज कलाक्र्स रिसोर्टमा एउटा हाइप्रोफाइल विवाह भयो । जिल्लाकै हाइप्रोफाइल घरानाको विवाह भएकाले त्यसमा कम जन्ती जाने कुरै भएन ।
फलस्वरुप त्यो विवाहमा करिब दश हजार व्यक्ति सहभागी भए, जन्ती बनेर । जहाँ सांसद, मन्त्री, पूर्वमन्त्री,प्रदेशका पूर्वमन्त्री,सिडिओ,एसपीसहित हाइप्रोफाइल व्यक्तिहरु नै सहभागी थिए । स्रोतका अनुसार यो एउटा विवाहको भोजमा मात्रै करौडौं रुपैयाँ खर्च भएको अनुमान छ ।

उदाहरण–२
हिजो मात्रै बीरगन्जको नगरसभा गृहमा एउटा विवाह सम्पन्न भयो । यो सम्पन्न विवाहमा बीरगन्जका अधिकांश व्यक्तिको सहभागिता थियो । भीआइपी घरानाको विवाह कार्यक्रम भएकोले यहाँ राजनीतिक, प्रशासनिकसहित वकिल, डाक्टर, पत्रकार, समाजसेवी गरी हरेक क्षेत्रका परिचित व्यक्तिहरु सहभागी भए, जुन सहभागीता सामाजिक व्यवहार सुधार ऐन,२०३३ विपरीत थियो ।

कानुनको पालना गराउनेदेखि लिएर कानुन बनाउँनेसम्म व्यक्ति यी २ वटै विहेमा सरिक भए ।
यी दुइ ठाउँमा भएको विहे त केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन । पछिल्लो समय मधेशमा हुने हरेक विवाहमा ती व्यक्तिको क्षमता अनुसार बढी जन्ती लैजाने विकृति बढ्दो छ, जसको मारमा दुलही पक्ष परिरहेका छन् ।
तरपनि कानुन कार्यान्वयन गराउने निकाय भने मौन झै बसिरकेको छ । जसकाकारण केटी पक्ष अर्थात् दुलही पक्षमा मार मात्रै परिरहेका छैनन्, एउटा छोरीको बिहे गर्न अभिभावकले आफ्नो जीवनकालमा कमाएका सारा सम्पति नै सिध्याउँनु परिरहेको छ ।

किन हुँदैछ शक्ति प्रदर्शन ?
मधेशमा हरेक काम एक अर्काको देखासिकी हुने गरेको पाइन्छ । यहीकारणले मधेशमा हुने विकृतिको अन्त्य नहुने गरेको जानकार बताउँछन् ।
जानकार भन्छन्–पछिल्लो समय मधेशमा विवाहमा शक्ति प्रदर्शन गर्ने चलन बढ्दो छ । देखासिकीको
मधेशमा सामाजिक परम्परा अनुसार गरिने विवाह, ब्रतबन्ध लगायतका कार्यक्रम शक्तिप्रदर्शन गर्ने माध्यम बन्न थालेको छ ।

कानुन बनाउने र आम जनतालाई सचेत बनाउनुको साटो शतिm प्रदर्शन गर्ने परम्परा बढीरहेको गुनासा पनि बढ्दैछन् । यो समस्या शहरमा मात्र नभई गाउँसम्म पनि विवाह पुगेको छ, भडकिलो बन्दै गइरहेको छ ।
सामाजिक परम्पराको नाममा हुने विकृतिले मधेशमा अझ बढी समस्या आइरहेको जसपा पर्साका सचिव तबरेज अहम्मद बताउँछन् । त्यसकारण सामाजिक परम्पराको नाममा गरिने तडभडले विवाहलाई महँगो बनाउँदै गइरहेकाले यसलाई रोक्नतर्फ ध्यान दिन जरुरी रहेको उनको तर्क छ ।

हाइप्रोफाइल घरानाका विहेमा बढी समस्या
पछिल्लो समय खासगरी यो समस्या त सबै वर्ग, समुदायमा यो प्रवृति मौलाउँदै गइरहेको पाइन्छ । राजनीतिक दलका नेता, प्रदेश सभाका सदस्य, प्रतिनिधि सभा सदस्य, मन्त्रीसहितका हाइप्रोफाइल विहेमा बढी सहभागीतामा भोजभतेर हुने गरेको सामाजिक अभियान्ताहरु बताउँछन् ।

उनीहरुका अनुसार राजनीतिक नीति नियम बनाउनेहरुकै विवाहमा हुने तडकभडकले समाजका निम्न वर्गलाई अप्ठ्यारोमा पार्दै गइरहेको छ ।
त्यसकारण यो देखासिकीले गर्दा आर्थिक रुपमा समेत समस्या हुने गरेकोले यो खाले भोजभतेरलाई सामाजिक रुपमा नै बहिष्कार गर्नुपर्ने जरुरी रहेको सामाजिक अभियन्ता प्रकाश थारुको सुझाव छ । उनका अनुसार यस्तो खाले भोजले समाजमा नकारात्मक प्रबृतिको विकास हुँदै गइरहेको छ ।

यो प्रवृतिको विकासमा अझ मलजल गरिरहेको छ–स्थानीय प्रशासन । हाइप्रोफाइल विवाहमा स्थानीय प्रशासनले आफ्नो सहभागीता जनाएर त्यस्ता खाले भोज भतेरको बढावातर्फ उस्काइरहेको जस्तो देखिन्छ,’ सामाजिक अभियान्ता थारुको बुझाइ छ ।

उनी भन्छन्,‘जनप्रतिनिधिहरुले मात्रै होइन धनाढ्य र मध्यमवर्गका व्यक्तिहरुमा यो समस्या बढ्दै छ, पहुँच देखाउनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायका उच्च अधिकारीहरुलाई समेत निमन्त्रणा दिएर भोजमा बोलाइदैछ, जसको कारणले विवामा फजुल खर्च बढिरहेका छन् ।’

के छ कानुनी व्यवस्था ?
दुलहा तथा दुलही पक्षबाट आयोजित भोजमा नजीकको नातेदार बाहेक अरु छरछिमेकी इष्टमित्रहरुमध्येबाट ५१ जना भन्दा बढी व्यक्तिलाई आमन्त्रण गर्न हुँदैन । यो भन्दा बढी आमन्त्रण गरेमा कानुनी कारबाहीको व्यवस्था छ ।
सामाजिक व्यवहार सुधार ऐन, २०३३ को (२) उपदफा (१) उल्लंघन गर्नेलाई बीस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।
तरपनि पछिल्लो समय विवाहका नाममा शक्ति प्रदर्शन गर्ने कार्य भइरहेको नागरिक समाजको बुझाइ छ ।


सम्बन्धित समाचार