Logo

२९ फागुन,वीरगञ्ज । मुस्लिम समुदायको रमजान पर्व देशभरि आजदेखि सुरु भएको छ । हिजो साँझको चन्द्रमा हेरेपछि विधिवत रूपमा रमजान पर्व सुरु भएको हो ।

चन्द्रमा हेरेर सुरु हुने यो पर्व एक महिनापछि फेरि चन्द्रमा हेरेर नै समापन हुन्छ । मंगलबार रातिदेखि सूर्योदयभन्दा पहिला सेहरी (रातिमा खाना) खाएर इस्लाम धर्मावलम्बीले यो पर्वको सुरुवात गरेका छन् ।
देशभरिका इस्लाम धर्मावलम्बीहरू रमजान पर्वको अवसरमा एक महिना रोजा (व्रत) बस्छन् । रोजा बस्दा दिनमा कुनै पनि खाद्यपदार्थ सेवन गर्न नपाइने मान्यता छ ।

रमजान इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व हो । रमजानमा खासगरी नाबालकबाहेक मुस्लिम समुदायका सबै स्वस्थ महिला–पुरुष एक महिने रोजा बस्छन्, जसले गर्दा यो पर्वलाई धार्मिक उत्सवका रूपमा मनाउने गरिन्छ ।

के हो रमजान ?

रमजान या रमदान इस्लामिक महिनाको नाम हो । इस्लामी क्यालेन्डरमा हरेक महिनाको नाम फरकफरक हुन्छ,त्यही अन्तर्गतको एउटा नाम हो रमजान ।
इस्लामी क्यालेन्डरमा मुहरम, सफर, रबी अल–अब्बल, रबी अल–थनी, जुमाद अल–उला, जुमाद अल–थनी, रज्जब, सआबान, रमजान, शौवाल, धूअल–किदाह र धुअल–हिज्जाह यी १२ महिना रहेका छन् । यसरी हेर्दा रमजान नवौं महिना हो ।

धार्मिक मान्यताअनुसार नवौं महिना रमजानमा मुस्लिम समुदायको धार्मिक ग्रन्थ कुरान अवतरण भएको हो । यही कुरानमा रोजाको चर्चा गरिएको छ । मुस्लिम समुदायले रोजा बस्नुपर्ने अनिवार्य गरिएको छ ।
अंकका हिसाबले पनि ९ पूर्ण अंक हो । मानव जीवनमा यही पूर्णता प्राप्तिका लागि पनि व्रत बस्ने गरेको पाइन्छ ।

यो महिनामा धार्मिक ग्रन्थ कुरान वाचन गर्नु बढी पुण्य मानिन्छ । रोजाको समयमा पाँच पटकको नमाजका अलावा एउटा विशेष नमाज पनि पढिन्छ । जसलाई ‘तराविह’ को नमाज भनिन्छ । जसमा कुरान पढेर सबैलाई सुनाइन्छ । कुरान पढ्न नआउनेहरूले पनि यो समय कुरान सुनेर पुण्य कमाउने अवसर मिल्ने आस्थावान व्यक्तिहरू बताउँछन् ।

एक महिना किन ?

धार्मिक ग्रन्थका आधारमा अल्लाह (भगवान) ले नै एक महिना व्रत बस्न हुकुम (आदेश) दिएको बुझिन्छ । अल्लाहले कुरानमार्फत् एक महिना व्रत बस्ने आदेश दिएको जानकारहरू बताउँछन् । यो आदेश कुरानको सुरा–ए–बक्रराहको आयात नम्बर १८५ मा दिइएको छ । त्यही कारणले रमजान पर्वमा एक महिना व्रत बस्ने गरेको बताइन्छ ।

रोजाको अर्थ

रोजा फारसी शब्द हो । यसलाई नेपालीमा उपवास भनिन्छ । अरबीमा उपवासलाई भने माह–ए–सियाम पनि भनिन्छ । रमजानको महिना कहिले २९ दिन त कहिले ३० दिनको हुन्छ । नेपाल र भारतको मुस्लिम समुदायमा फारसी प्रभाव बढी परेकाले उपवासको फारसी शब्द रोजा नै बढी प्रयोग हुने गर्छ ।

रोजा किन ?

मुस्लिम समुदायको रमजान महिनामा रोजा बस्नु कर्तव्य (फर्ज) हो । रमजान इस्लाम धर्मको पाँच पिल्लरमध्ये एक हो । यसको पाँच पिल्लरमा कल्मा (श्लोक), नमाज, रोजा, जकात र हज पर्छन् । अर्थात् रोजा गर्नैपर्ने काम हो ।
यो व्रत बस्नाले जन्नत (स्वर्ग) प्राप्ति हुने धार्मिक मान्यता छ । अर्को शारीरिक रूपमा पनि यसको धेरै फाइदा रहेको बताइन्छ । मुख्यतः व्रतको समयमा जाड रक्सी, चोरी, चुरोट, सुर्ती जस्ता पदार्थ सेवन गर्नु वर्जित गरिएको छ । एक महिनाको लामो व्रतमा कुलतहरू छुट्ने सम्भावना बलियो देखिन्छ । रमदान महिनाको मुख्य उद्देश्य भनेको निराहार व्रत बसी सधै अनुशासित ढंगबाट जीवन बिताउनु हो ।

चन्द्रमा (चाँद ) किन हेरिन्छ ?

चन्द्रमालाई हेरेर सुरु गरिने यो पर्व चन्द्रमालाई हेरेपछि नै अन्त्य गरिन्छ । यसो गर्नुको रहस्य के हो ? धेरैका मनमा प्रश्न आउने गर्छ । इस्लामिक क्यालेन्डर चन्द्रमाको गति अनुसार बनाइएको हुन्छ । मुस्लिम परम्परामा समयको गतिलाई मापन गर्ने आधार चन्द्रमा नै हो ।

चन्द्रमा शीतलता र उज्यालोका स्रोत पनि हुन् । कुरान अनुसार शान्त, धीर र गम्भीर मुस्लिम धर्म अनुयायीका गुण हुन् । मानवमा पनि चन्द्रमाकै जस्तो दोष पक्षलाई मेट्दै गुण पक्ष प्रकाशित होस् भन्ने हेतुले यो पर्व मनाइएको विश्वास गरिन्छ ।

रोजा क–कसले गर्ने ?

धार्मिक मान्यताअनुसार बालिग व्यक्तिका लागि रोजा अनिवार्य गरिएको छ । महिला रजस्वला भएपछि र पुरुषमा स्वप्नदोष भएपछि बालिग भएको मानिन्छ । यसलाई आधार मान्दा १३ वर्षको उमेरसँगै मुस्लिम बालबालिकाहरू रोजा बस्नुपर्छ ।

दीर्घ रोगी, सिकिस्त बिरामी र गर्भवतीका लागि भने यो अनिवार्य गरिएको छैन । रजस्वला भएका महिलालाई पाँच दिनसम्म छुट दिइएको छ । यसैगरी यात्रा गर्दा बिरामी भएको अवस्थामा पनि रोजा बस्न अनिवार्य गरिएको छैन । रोजा प्रारम्भ गरेपछि कुनै कारणबस बीचैमा छुट्यो भने आफूलाई पायक पर्ने महिनामा व्रत बसेर सट्टा भर्ना गर्ने नियम छ ।

के हो सेहरी र इफ्तार ?

सेहरी र इफ्तार यी दुई अरबी शब्द हुन् । यसलाई सामान्य भाषामा बुझ्ने हो भने उपवासको दिन अर्थात् सूर्योदय भन्दा पहिला केही खाइन्छ, जसलाई सेहरी भनिन्छ । यसैगरी सूर्यास्त भएपछि केही खाएर व्रत तोडिन्छ, जसलाई इफ्तार भनिन्छ ।

शारीरिक सम्बन्ध राख्न नपाइने

रमजान मुस्लिम समुदायका लागि पवित्र महिना हो । यो महिनामा सबैले अल्लाहको विशेष प्रार्थना गर्छन् ।
रमदान अवधिभर कुरान र नमाज पढ्दा अन्य दिनको तुलनामा ७० गुणा बढी पुण्य आर्जन हुने जनविश्वास छ । तसर्थ धेरै समय निकालेर अधिकांशले कुरान र दिनमा पाँचपटक नमाज पढ्ने गर्छन् ।

व्रत मात्रै बसेर यो पर्व पूर्ण भएको मानिँदैन । यो समयमा बढी धार्मिक गतिविधि नै सक्रिय रहन सबैलाई आग्रह गरिन्छ । व्रत बस्नेहरू यो अवधिमा अश्लिल गफ मात्रै नभई नाचगानसहित कुनै पनि मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुन नपाइने नियम छ । यतिमात्र नभई यो अवधिभरि दिनमा श्रीमान–श्रीमतीबीच शारीरिक सम्बन्धसमेत राख्न नपाइने नियम छ । रोजामा बर्जित गरिएका काम भएमा रोजा भंग हुन्छ । रातमा सम्बन्ध भएमा नुहाएर शुद्ध (पाक) हुनुपर्छ ।

दान–पुण्यको पर्व

रोजा बस्नेहरू यो समयमा दीन–दुःखीलाई खाना खुवाउने, लत्ता कपडा दिने तथा आर्थिक सहयोग समेत गर्छन् ।
मुस्लिम समुदायमा यो महिनालाई दान–पुण्य गर्ने महिनाका रूपमा लिइन्छ । यो महिनामा अरूलाई सहयोग गरे त्यसको ७० गुणा बढी पुण्य पाइने धार्मिक मान्यता छ । यो महिनामा अझ रोजादार (व्रतालु) लाई इफ्तार गराए गुनाह (पाप) बाट छुटकारा पाउने विश्वास छ ।

यसका लागि रमदानमा जकात, सदका, फित्रा भनेर केही रकम निकाल्ने चलन छ । जसका लागि वर्षभरिमा आफूले कमाएको सम्पत्तिबाट कम्तीमा साढे २ प्रतिशत रकम दान दिने चलन छ । रमजानको अन्तिमको दिन इ–दुल–फित्रको नमाज पढेर यसको समापन गरिन्छ । जसलाई चलनचल्तीको भाषामा ईद पनि भनिन्छ ।


सम्बन्धित समाचार