Logo

२८ चैत,वीरगञ्ज । प्रहरी हिरासतमा रहेका वीरगन्जको नेशनल मेडिकल कलेजका प्रयोगशाला (ल्याब) इन्चार्ज डा. सञ्जय साहलाई रिहाईको माग गरिएको छ । नेपाल चिकित्सक संघ नारायणी शाखाले संघले एक विज्ञप्ति जारी गर्दै डाक्टर साहलाई रिहा गर्न माग गरेको हो ।

सोमबार मेडिकल कलेजको ब्लक (ए) मा रहेको ल्याबमा छापामारी गरी प्रहरीले सन् २०२१ मै म्याद गुज्रिसकेको केमिकल सहितका औषधी बरामद भएपछि कलेजका एमडी शाहनवाज अन्सारी र प्रयोगशाला इन्चार्ज साहलाई नियन्त्रणमा लिएको थियो । तर अनुगमन टोलीले लगाएको आरोपहरुलाई भने कलेज प्रशासनले समेत विज्ञप्ती जारी गर्दै खण्डन गरेको छ ।

ल्याब टेस्टको प्रोटोकल पालना गरेको तथा म्याद सकिएको केमिकलहरु रिएजेन्टहरुको निश्चित मापदण्ड अपनाएर मात्र डिस्पोज गर्नुपर्ने भएकोले एकातिर भण्डारण गरी राखिदिएको कलेज प्रशासनको दाबी छ । कुनै पनि म्याद गुज्रेका रिजेन्ट भुलबस पनि प्रयोग भएमा मेशिनले आफै रिजेक्ट गरिदिने सिस्टम रहेकोमा म्याद गुज्रेका रिजेन्ट प्रयोग हुने सम्भावना शुन्य रहेको चिकित्सक संघका सचिव डा.नौसाद हकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पेशागत दायित्व निर्वाह गर्नेक्रममा कहिँ कतै सामान्य कमिकमजोरी त्रुटि भएमा त्यसको सत्यतथ्य छानविन गर्ने कानुनी प्रक्रियाहरु रहेको भएपनि प्रहरी प्रशासनले कपोकल्पित घटनालाई आधार बनाएर चिकित्सकको मानमर्दन गर्नेगरि अपराधिक शैलीमा प्रयोगशालाका ईन्चार्ज साहलाई पक्राउ गर्ने कार्य सही नभएको संघका सचिव नौसादले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

घटनाप्रति नेपाल चिकित्सक संघ नारायणी शाखाले घोर भत्र्सना गर्दै डा. साहलाई सम्मानपुर्वक अबिलम्ब रिहाई गर्न प्रहरी प्रशासन समक्ष माग गरेको हो । अन्यथा संघले जुनसुकै संघर्ष गर्न तयार रहेको चेतावनी समेत दिएको छ । यस्तै अस्पतालका कर्मचारीहरुले पक्राउ परेका कलेजका प्रबन्ध निर्देशक एमडी शाहनवाज अन्सारीको समेत रिहाईको माग हिजो जिल्ला प्रहरी कार्यालय अगाडी कुँचो र झाडुसहित प्रर्दशनमा गरेका थिए ।

प्रदर्शनमा उत्रिएका कर्मचारीहरुले ‘हाम्रो एमडीलाई रिहा गर’ ‘पुलिस प्रशासन मुर्दावाद’ लगायतका नारा लगाएका थिए । शाहनवाज भने अहिले प्रहरीको हिरासत छल्न उपचारको बहानामा वीरगन्ज हेल्थ केयरको डिलक्स केबिनमा भर्ना रहेका छन् ।

यता पक्राउ परेका प्रवन्ध निर्देशक शाहनवाज अन्सारी र डाक्टर सञ्जय साहलाई पर्सा जिल्ला अदालतले दुईदिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।


सम्बन्धित समाचार