Logo

२ वैशाख,वीरगञ्ज । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा पाँच महिनाभित्र अनिवार्यरुपमा प्रदेश सम्मेलन गर्न परिपत्र गरेको छ । मधेश प्रदेशमा पार्टीको काम व्यवस्थित बनाउँन आगामी भदौंभित्र प्रदेश सम्मेलन सम्पन्न गर्ने परिपत्र गरेको छ ।

मधेश प्रदेशमा कार्यरत केन्द्रीय समिति सदस्य, वैकल्पिक केन्द्रीय समिति सदस्य वा सो सरहका सदस्यहरुलाई जिम्मेवारी सुम्पिएको छ ।

त्यसक्रममा नेकपा माओवादी केन्द्रले प्रदेश सम्मेलन सम्पन्न गर्नका लागि प्रदेश इन्चार्ज लिलामणि पोख्रेलको संयोजनमा मधेश प्रदेश सम्मेलन आयोजक समितिसमेत गठन गरेको छ ।

प्रदेश सम्मेलन आयोजक समितिको सह इन्चार्जमा विश्वनाथ साह र कार्यालय सदस्यहरुमा प्रल्हाद कुमार बुढाथोकी, महेन्द्र पासवान र जोगकुरमा बरबरियालाई चयन गरिएको छ ।

यही भदौं महिनाभित्र प्रदेश सम्मेलन सम्पन्न गरी प्रदेश समिति निर्माण गर्न माओवादी केन्द्रले समितिलाई निर्देशन समेत दिएको छ । साथै जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत सञ्चालित बाँकी कार्यहरु अविलम्ब पूरा गर्न माओवादी केन्द्रले निर्देशनसमेत दिएको छ ।

कुन जिल्लामा कोे इन्चार्ज ?

मधेश प्रदेश सम्मेलन सम्पन्न गर्नका लागि माओवादी केन्द्रले प्रदेशसंगै जिल्लामा समेत कार्यभार बाँडेको छ । मधेश प्रदेशका आँठवटै जिल्लामा छुटाछुट्टै जिल्ला इन्चार्ज तोकिएको छ ।

माओवादी केन्द्रले पर्सा जिल्ला इन्चार्जको जिम्मा विजय महतोलाई दिएको छ । यसैगरि बारामा क्षेत्र बहादुर श्रेष्ठ, रौतहट सुरेन्द्र कुमार जैसवाल (अशोक), सर्लाही अच्युतम प्रसाद काफ्ले, महोत्तरीमा राजु खड्कालाई जिल्ला इन्चार्ज तोकिएको छ ।

माओवादी केन्द्रले गरेको परिपत्रमा जोग कुमार बरबरिया यादव धनुषा, अजय शंकर नायक सिरहा र सूर्यनाथ यादवलाई सप्तरी जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।जितपुर सिमरा उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी मेयर राजन पौडेललाई तोकिएको छ ।

माओवादीले जारी गरेको परिपत्रमा मधेश प्रदेश सरकार, प्रदेश सभा र निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्षेत्र सोही अनुसार रहने जनाइएको छ ।

सरकार र सदनका कार्य तथा प्रतिनिधित्व गरेको क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी केन्द्रले परिपत्रमार्फत जनाएको छ ।

Circular-080-12-30_240412_171104


सम्बन्धित समाचार