१४ वैशाख,वीरगञ्ज । रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव सुरु भएको छ । बढ्दो गर्मीमा अस्पतालहरुमा बिरामीको चाप बढेको र रक्तदानमा कमी आएपछि रगतको अभाव सुरु भएको हो ।
रक्तसञ्चार केन्द्रमा रगत अभाव भएपछि विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई रक्तदानको आयोजना गर्न रक्तसञ्चार केन्द्र वीरगन्जले आह्वान गरेको छ ।
रक्तदानको कार्यक्रम नियमित भइरहेको भएपनि रक्तदान गर्नेहरुको संख्यामा कमी आउँदा रगतको अभाव हुन थालेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जनाए ।
उनका अनुसार रक्तसञ्चार केन्द्रमा दिनमा १७ देखि ९० युनिटसम्म रगतको माग हुने गरेको छ । सोही माग अनुसार रगतको आपूर्ति गर्न समस्या हुन थालेको उनले बताए ।
अत्याधिक गर्मीका कारणले रक्तदान गर्नेको संख्यामा कमी हुँदा रगत पनि कम संकलन हुने गरेको पाण्डेको भनाई छ । पहिले एकसय पोका रगत संकलन हुने ठाउँमा अहिले २० देखि २५ पोका मात्रै रगत संकलन हुने गरेको उनले बताए ।
गर्मीमा रगत दिनेहरु भन्दा रगत चाहिने बिरामीहरुको संख्या बढी हुँदा सन्तुलन बिग्रिएर रगतको अभाव भएको प्राविधिक प्रमुख पाण्डेको भनाई छ ।
उनका अनुसार विभिन्न संघसंस्थाहरुले रक्तदानको आयोजना गरेपनि गर्मीमा रगत दिनेहरु कम हुँदा संकलन नै कम भएर रगतको अभाव भएको हो ।