Logo

७ मंसिर वीरगञ्ज । मधेस आन्दोलनबाट उदाएका दुई वटा राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) यसपटक आफ्नो अस्तित्व जोगाउन कठिन मोडमा पुगेका छन ।

पृथकतावादी आन्दोलनबाट उदयभएको सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले मधेसमा राम्रो उपस्थिती देखाउने संकेत गरेको छ । पछिल्लो मतपरिणामले समेत जनमत पार्टीका उमेदवारले केही क्षेत्रमा अग्रता कायम रख्दै आएका छन् ।

मधेस आन्दोलनबाट नेतृत्व स्थापित गरेका उपेन्द्र यादव यसपटक पराजयको संघारमा पुगेका छन् । त्यस क्षेत्रमा जनमत पार्टीका सिके राउत यादव भन्दा दोब्वर मतान्तरले अगाडी बढेका छन् । चन्द्रकान्त राउत (सिके)को २९ हजार ९७५ मत प्राप्त भएको छ भने उपेन्द्र यादवको १४ हजार ९९० मतमात्र छ । गठबन्धनका उमेदवार लोसपाका जयप्रकास ठाकुर धेरै पछाडी छन् उनले ५ हजार ९९३ मत प्राप्त गरेका छन् ।

उपेन्द्र यादवको पराजयले मधेसमा नयाँ तरंग पैदा गरेको छ । मधेसका मुद्दामा उपेन्द्र यादवले पटक पटक सत्तासँग सम्झौता गरेको र जनताको एजेण्डालाई स्थापित गर्न नसकेको आरोप उनी माथि लाग्ने गरेको छ । एमालेसँगको चुनावी गठबन्धनले समेत यादव अप्ठेरोमा परेको देखिन्छ । मधेसी जनताको बुझाइमा एमाले अध्यक्ष केपी ओली मधेस विरोधी नेताको रुपमा चिनिन्छन् ।

पृथकतावादी आन्दोलन छोडेर शान्तिपूर्ण राजनीतिमा आएका सिके राउतलाई मधेसी जनताले उनको शान्तिपूर्ण राजनीतिक यात्रालाई अनुमोदन गरेका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने मधेसमा उपेन्द्र यादवको विकल्पमा सिके राउतलाई मधेसी जनताले अगाडी बढाउन खोजे देखिन्छ ।

नेपाली कांग्रेसको लामो विरासत त्यागेर मधेसवादी राजनीतिमा लागेका महन्थ ठाकुरले नेतृत्व गरेको लोसपाको अवस्था पनि यसपटकको निर्वाचन पछि के हुने हो भन्ने अवस्थामा पुगेको छ । महोत्तरीको निर्वाचन क्षेत्र नं. ३ मा उनलाई स्वतन्त्र उमेदवार रामआधार कापरले पछाडी पारेका छन् ।

मतपरिणामको प्रारम्भिक नतिजालाई हेर्ने हो भने ठाकुर केही मतले कापर भन्दा पछाडी परेका छन् । अघिल्लो निर्वाचनमा मधेसवादी दल एकठाउँमा थिए । उनीहरु निर्वाचित भएर गएपछि सत्ता स्वार्थमा लागेर विभाजन भए । उनीहरुको सत्ता स्वार्थको लडाईका कारण मधेसका जनताका एजेण्डा ओझेलमा परेको भन्दै यसपटक महन्थ र उपेन्द्रलाई सजाय दिने पक्षमा मधेसी जनताले देखिएका हुन की भन्ने अनुमान लगाउन सकिन्छ ।

यता सर्लाहीको निर्वाचन क्षेत्र नं. २ बाट उमेदवार बनेका राजेन्द्र महतोको स्थिती पनि राम्रो छैन । त्यस क्षेत्रमा महेन्द्रराय यादव उनी भन्दा धेरै मतान्तर सहित अगाडी छन् । प्रारम्भिक नतिजाले समेत राजेन्द्र महतोको स्थिती कमजोर देखाउछ । सदभावना पार्टीको राजनीतिबाट आएका महतोले यसपटक संसदमा जाने विरासत जोगाउन मुस्किल देखिन्छ ।

मधेसका केही निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ भने अधिकांश जिल्लामा मतगणना हुदैछ । अहिले सम्म बाहिर आएका परिणामलाई हेर्ने हो भने सप्तरी १ मा नवलकिशोर साह, सिराहा २ मा राजकिशोर यादव, सिराहा ४ मा विरेन्द्र प्रसाद महतो, धनुषा १ मा दिपक कार्की, बारा ३ मा रामबाबु कुमार यादव र पर्सा १ मा प्रदीप यादव आफ्ना निकट्तम् प्रतिस्पर्धी भन्दा अगाडी छन् ।

मधेस प्रदेशका ३२ स्थानको प्रतिनिधि सभा सदस्य पदमा एमालेसँग गठबन्धन गरेको जसपाले १७ बटा क्षेत्रमा उमेदवारी दिएको थियो । पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी ६ स्थानमा मात्र अगाडी देखिन्छ । २०७४ को निर्वाचनमा जसपाले प्रत्यक्ष तर्फ ९ स्थानमा विजयी हासिल गरेको थियो ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को अवस्था पनि राम्रो छैन । पछिल्लो मत परिणामलाई हेर्ने हो भने लोसपाले मधेसका ३२ स्थान मध्ये दुई ठाउँमा मात्र प्रतिस्पर्धामा अगाडी छ । महोत्तरीको क्षेत्र नं २ बाट शरदसिंह भण्डारी र सर्लाही १ बाट रामप्रकाश चौधरी प्रतिस्पर्धामा अगाडी देखिएका छन् । शरदसिंह भण्डारी आफ्ना प्रतिद्धन्दी भन्दा निकै अगाडी छन भने चौधरीलाई स्वतन्त्र उमेदवार मानबहादुर खड्काले नजिकबाट पछ्याई रहेका छन् । २०७४ को निर्वाचनमा १० स्थान जितेको लोसपाले यसपटक पुरानो विसात जोगाउन सक्ने अवस्थामा देखिदैन ।

बागमती र गण्डकी प्रदेशको शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनमत देखिएको छ भने मधेसको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा जनमत पार्टी प्रति जनमत बढेको पाइन्छ । अघिल्लो निर्वाचनमा मधेसवादी पार्टी विचको एकताले मुख्य राजनीतिक दलको कमजोर उपस्थिती रहेकोमा यसपटक मुख्य राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले मधेसमा राम्रो स्थान हासिल गर्न सक्ने अवस्था देखिएको छ ।


सम्बन्धित समाचार