१४ वैशाख,वीरगञ्ज । मधेश प्रदेशमा ७५ जना औलोको बिरामी फेला परेका छन् । प्रदेशका आठ वटा जिल्लाहरूमध्ये सबभन्दा बढी सर्लाहीमा २३ जना औलोका बिरामी फेला परेका हुन् । सबैभन्दा कम सप्तरीमा दुई जनामा यसका कीटाणु भेटिएका छन् ।
चालु आर्थिक वर्षको वैशाख १० गतेसम्ममा पर्सामा ५ जना, बारामा ११ जना, रौतहटमा १६ जना, धनुषामा १०, महोत्तरीमा ५ र सिराहामा तीन जना मलेरियाका बिरामी फेला परेका स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका जनस्वास्थ्य प्रशासक श्रवणकुमार नायकले जानकारी दिए ।
कतिलाई गरियो परिक्षण ?
मधेश प्रदेशका जिल्लाहरूमा औलो रोगको परीक्षण कम हुने गरेको छ । परीक्षण कम हुँदा बिरामी पनि कम फेला परेको हुन सक्ने उनले बताए । प्रदेशमा अहिलेसम्ममा २५ हजार ६६८ जनाको परीक्षण गरिएको छ ।
सबैभन्दा बढी महोत्तरीमा छ हजार ९२ जनामा औलोको परीक्षण गरिएको छ भने सबभन्दा कम बारामा एक हजार १५ जनालाई परीक्षण गरिएको निर्देशनालयका वरिष्ठ ल्याब टेक्निसियन फुलेन्द्र यादवले बताए ।
त्यस्तै पर्सामा चार हजार १७ जनालाई मलेरियाको परीक्षण गरिएको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा ३० हजार ८७२ जनामा मलेरियाको परीक्षण गरिएको थियो ।
अहिले तथ्याङ्कको आधारमा औलोका बिरामीको हिसाबले अन्य प्रदेशको तुलनामा मधेश प्रदेश कम जोखिममा रहेको छ । आर्थिक वर्ष २०७९–०८० को तथ्याङ्क अनुसार मधेशमा ६६ जनामा मलेरिया बिरामी फेला परेको थियो ।