Logo

२८ वैशाख, महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुख सँगै १२ जना उपर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले नगर प्रमुख सुरेश साह सेनार, उपप्रमुख रौशन खातुन र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

जलेश्वर नगरपालिका वडा नम्बर १ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उक्त योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो मागदाबी गरेको छ ।

भ्रष्टाचार मुद्दा लाग्ने अन्य कर्मचारीमा अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सव–इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवी रहेका छन् ।


सम्बन्धित समाचार