Logo

२८ वैशाख,वीरगञ्ज । उपमेयर इम्तिायाज आलमको संयोजकत्वमा गठित टोलीले आजपनि वीरगञ्जमा होटलहरुको अनुगमन गरेको छ । वीरगञ्ज महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन समितिले विभिन्न होटलहरुमा अनुगमन गरेका हुन् ।

समितिले आज होटल मकालु, होटल डिलाइट, होटल जाइका बिरयानी, होटल सम्मा बिरयानीमा अनुगमन गरेको हो । अनुगमनका क्रममा मकालु होटलको फ्रिजबाट १ पिस म्याद गुज्रिएको बडवाइजर बियर फेला पारेको अनुगमन टोलीका सदस्य कन्हैया ठाकुरले बताए ।

यस्तै उक्त होटलले साकाहारी र मांसाहारी खाद्य सामग्री एकै ठाउँमा राखेको पाइएकाले त्यस्ता खाद्य सामग्रीलाई छुट्टाछुट्टै राख्न निर्देशन दिएको उनले जनाए । साथै फ्रिजको सरसफाईमा ध्यान दिन र व्यवसाय दर्ता प्रमाणपत्र नविकरण गराउन निर्देशन दिएको समितिले जनाएको छ ।

यसैगरी होटल डिलाइटले फ्रिजमा मासुजन्य खाद्य पदार्थ प्याकिङ नगरी राखेको अवस्थामा फेला पारेको र सो होटलले समेत दर्ता प्रमाणपत्र नविकरण नगरेको भेटिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विपिक कुमार दासले जानकारी दिए ।
यस्तै मुर्लीस्थित होटल जायका बिरयानीले भान्साको फ्रिजमा राखेको मासुजन्य पदार्थको अवस्था अव्यवस्थित र फोहोर तथा गन्हाउने तरिकाले राखेको भेटिएको उनले बताए । ती होटलहरुलाई खाना सफा र व्यवस्थित तरिकाले राख्न र नागरिकको स्वस्थ्सँग खेलवाड नगर्न निर्देशन दिइएको अधिकृत दासले बताए ।

श्रीराम हलको छेउमा रहेको होटल सम्मा बिरयानीमा समेत खानालाई अव्यवस्थित र फोहोर तरिकाले राखिएको पाइएकाले व्यवस्थित बनाउन निर्देशन दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

यसअघि हिजोपनि अनुगमन टोलीले वीरगञ्जकै केएफसी र क्र्लाक होटलमा अनुगमन गरेको थियो ।


सम्बन्धित समाचार