Logo

१९ जेठ, वीरगञ्ज । नेपाल पत्रकार महासंघको निर्वाचन कुनैपनि बहानामा अवरुद्ध हुन नहुने ६ वटा पत्रकार संगठनहरुले निष्कर्ष निकालेका छन् ।

नेपाल पत्रकार महासंघको निर्वाचन जेठ २६ गते गर्ने गरी निर्वाचन समिति समेत गठन गरिसकेको अवस्थामा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन नगर्ने नियतले विज्ञप्ति जारी गरेपछि ६ वटा पत्रकार संगठनहरुले तोकिएकै मितिमा निर्वाचन गर्न माग गरेको हो ।

बैशाख मसान्त भित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकोमा हालसम्म आधिकारिक सूची पनि समितिलाई उपलब्ध नगराएकोमा ध्यानाकर्षण भएको ६ वटा संगठनले जनाएको छ । अध्यक्ष आफैले सहमति गरेर हस्ताक्षर गरेको सदस्यताको नामावली समेत सार्वजनिक नगरेर निर्वाचन रोक्ने मनसायले अध्यक्ष विपुल पोखरेल लागेको ६ संगठनले ठहर गरेको छ ।

प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, जनपत्रकार संगठन नेपाल र क्रान्तिकारी पत्रकार संगनले संयुक्त वक्तव्य जारी गर्दै महासंघको २७ औं महाधिवेशनबाट तोकिएको मितिमै निर्वाचन गर्ने वातावरण बनाउन माग गरेको छ ।

पत्रकार संगठनहरुको आज बजेको बैठकले ४ बुँदे धारणा सार्वजनिक गर्दै तोकिएकै मितिमा निर्वाध रुपमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउन माग गरेको छ। त्यस्तै महासंघको अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरुको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रकृया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाउन पनि माग गरेको छ ।

कुनैपनि बहानामा महासंघको निर्वाचन अवरुद्ध गर्ने कार्य नगर्न केन्द्रीय नेतृत्वको ध्यानाकार्षण गराउदै नेपाल पत्रकार महासंघको गौरवपूर्ण इतिहास, साझा चरित्र र गौरवलाई रक्षा गर्दै पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र पत्रकारिताका मुद्दाहरुलाई सम्बोधन गर्न सहकार्य गर्दै अघि बढ्ने प्रण पनि गरेको छ ।

संयुक्त प्रेस वक्तव्यमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणी सुवेदी, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेर बहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष कमल बुढाले हस्ताक्षर गरेका छन् ।


यसअघि नेपाल पत्रकार महासङ्घले आसन्न निर्वाचनका लागि मतदाता नामावली प्रकाशित नहुँदै महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी भएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो ।

महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्तीमार्फत महासङ्घले हालसम्म मतदाताहरूको आधिकारिक सूची प्रकाशित नगरेको समेत जनाएको थियो । अध्यक्ष पोखरेलले निर्वाचन समितिमार्फत प्रकाशित हुने मतादाता नामावलीको त्रुटि सच्याउने छुटेका पत्रकारहरुको नाम समेट्ने सकिने भन्दै असहमतिलाई वार्ता र सम्वादमार्फत समाधान गर्न आग्रह गरेका छन्

। चुनावको वातावरण निर्माणमा संवेदनशील बन्न समेत सबैलाई उनले आग्रह गरेका छन् । मतदाता नामावलीमा त्रुटि सच्याउन तथा छुटेका पत्रकारहरूको नाम समेट्नुपर्ने माग गर्दै समाजवादी प्रेस सङ्गठन र प्रेस युनियनसँग आबद्ध पत्रकारहरूले महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिरहेका छन् । महासङ्घको नयाँ नेतृत्वका लागि यहि जेठ २६ गते निर्वाचन तोकिएको छ ।

 

 


सम्बन्धित समाचार