Logo

३१ जेठ, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु छ । तीन दिन जारी रहने भनिएको महाधिवेशन आज थप एक दिन लम्बिएको छ ।

महाधिवेशनको कार्यतालिका अनुसार बुधबार (हिजो) निर्वाचन प्रक्रिया सकेर नतिजा आइसक्नु पर्ने हो । तर नसकिएकाले हिजो हुने भनिएको मतदान आजका लागि सारिएको छ ।
निर्वाचन समितिले आज १२ बजेदेखि मतदान प्रक्रियाको समयावधि निर्धारण गरेको हो । महाधिवेशन समयावधि २८ देखि ३० गतेसम्मका लागि निर्धारित थियो ।

निर्वाचनको दाबी विरोध, मनोनयन पत्र फिर्तासहितका अन्य प्रक्रियाको टुंगो लगाएर आज विहान १२ बजेदेखि मतदान प्रक्रियामा जाने तयारी गरिएको निर्वाचन समिति संयोजक महम्मद समिम अख्तर अलीले बताए ।

विहानैदेखि प्रचार–प्रसार सुरु

जसपा नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्यहरुमा उम्मेदवारी दिएकाहरु निर्वाचन प्रक्रियामा होमिसकेका छन् ।

मतदानस्थलदेखि लिएर सामाजिक सञ्जालमासमेत उम्मेदवारीहरुले भोट माग्नेको लर्को छ । मतदान स्थल आसपास एरियामा पर्चा, पम्पलेट, ब्यानरसहितका सामग्री प्रयोग गर्दै आफूलाई जिताउन आग्रह गरिरहेका छन् । साथै उम्मेदवारहरुले समर्थकहरुबाट समेत आफ्नो पक्षमा नाराबाजी गराइरहेका छन् । यद्यपी, निर्वाचन समितिले भने अझ अन्तिम उम्मेदवारको सूचि प्रकाशन भने गरेको छैन ।

यी चर्चित पूर्वमुख्यमन्त्रीहरु को–कोसंग लड्दै ?

निर्वाचनबाट नेतृत्वमा आउने भएपछि पार्टीका चर्चित अनुहारहरु चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । मधेश प्रदेशका २ पूर्वमुख्यमन्त्रीहरु पनि आफ्ना उम्मेदवारी दिँदै चुनावी प्रतिस्पर्धामा उत्रेका हुन्  ।

मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले सहअध्यक्षमा दाबेदारी दिएका छन् । सहअध्यक्षमा उनको दाबेदारीसंगै अन्य २ जना चर्चित अनुहारको पनि उम्मेदवारी परेको छ ।

सहअध्यक्षमा मुख्यमन्त्री राउतसंगै रकम चेमजोङ र राजकिशोर यादवको उम्मेदवारी परेको छ । त्यसकारण सहअध्यक्ष पदको निर्वाचन रोमाञ्चक बन्न पुगेको जसपावृतमा चर्चा चुलिएको छ ।

यसैगरी अर्का पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले पनि नेतृत्व तहमै उम्मेदवारी दिएका छन् । पूर्वमुख्यमन्त्री यादवले मधेशीतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका हुन । उनको लडाइँ भने यही कलस्टरमा उम्मेदवारी दिएका रामबचन अहिर यादवसंग हुँदैछ । एक मधेशी उपाध्यक्ष पदका लागि यी दुबै जनाले दाबेदारी दिएका छन् ।

जसपा नेपालले एकताको राष्ट्रिय महाधिवेशनबाट २९ गते पार्टीको विधान संशोधन गरिएको थियो । उक्त संशोधित विधानअनुसार अहिले केन्द्रीय समिति २०१ जनाको बनाइएको छ । यद्यपी, यसअघि १५१ जनाको जसपाको केन्द्रीय समिति थियो ।

कुन पदमा कति जनाबिच प्रतिस्पर्धा ?

जसपा अध्यक्षबाहेक १९ पदाधिकारीसहित २०० पदका लागि आज निर्वाचन हुँदैछ । अध्यक्षबाहेक अब एक जना सहअध्यक्ष, उपाध्यक्षमा ५, महासचिवमा २, उपमहासचिवमा ३, सचिवमा ७, कोषाध्यक्षमा १ जना गरी १९ पदाधिकारी र १८१ केन्द्रीय सदस्यमा चुनावी प्रतिस्पर्धा हुँदैछ ।

एक सहअध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । अहिलेसम्म कसैले उम्मेदवारी फिर्ता नलिएको कारणले सहअध्यक्षमा तीनै जनाबिच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा भने १७ जनाको उम्मेदवारी परेको छ । एक महिलासहित ५ जना उपाध्यक्ष पदका लागि पुरुषतर्फ १७ र महिलातर्फ ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।


सम्बन्धित समाचार