Logo

१० असार,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा कर्मचारीले गडबड गरेको बताएका छन् । आज बिहान जनकपुरधाममा समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको ‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री सिंहले सरकार बनेको ८ दिनमै बजेट ल्याएको बताउँदै नेतामात्र परिवर्तन भएको र बनेको बजेटमा कर्मचारीले खेल गर्दै धेरै बजेट यताउता गरेको जनाए । यसबारे आन्तरिक छानबिन गरिरहेको उनको भनाइ छ । ६ दलको गठबन्धनमा २५ जेठमा मुख्यमन्त्री बनेका सिंह नेतृत्वको सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएको थियो ।

बजेटमा कर्मचारीले गडबड गरेको विषयमा छानबिन गरेर उजागर गर्ने उनको जिकिर छ । मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकार ‘मिडिया फ्रेन्डली’ भएको दाबी गरे ।

उनले लोककल्याणकारी विज्ञापन, पत्रकारको बीमा र खोजपत्रकारिताका लागि बजेट विनियोजन गरेको बताए । उनले अब विगत जस्तो आर्थिक वर्षको अन्तिममा काम गर्ने प्रवृतिको अन्त्य गर्दै आर्थिक वर्ष सुरु भएलगत्तै काम थाल्ने जानकारी दिए ।


सम्बन्धित समाचार