Logo

फाइल फोटो

१३ असार,वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० को नतिजा अनुसार मधेश प्रदेशबाट ४२ हजारभन्दा बढी विद्यार्थी अनुत्तीर्ण (नन ग्रेड) भएका छन् । प्रदेशबाट ४२ हजार २८६ जना विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।
यो प्रदेशबाट ७९ हजार ५९२ विद्यार्थीले २०८० साल चैतमा भएको एसईईको परीक्षामा सहभागीता जनाएका थिए ।

बिहीबार सार्वजनिक नतिजाअनुसार अनुत्तीर्ण हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको देखिएको छ । उक्त प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४९ हजार २२४ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
त्यसैगरी कोशी प्रदेशका ७५ हजार ९८८ विद्यार्थीमध्ये ३९ हजार ८९५ विद्यार्थी अनुत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० ले जनाएको छ । सुदूरपश्चिम प्रदेशका ३६ हजार ४१० विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

बागमती प्रदेशका कुल ९९ हजार ८७२ विद्यार्थीमध्ये ३३ हजार ८४३ विद्यार्थी अनुत्तीर्ण भएका छन् । कर्णाली प्रदेशमा २० हजार ३८० विद्यार्थी अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । कर्णालीबाट गत चैतमा भएको परीक्षामा ३५ हजार ३४ विद्यार्थी सहभागी भएका थिए ।

गत चैतमा भएको परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ विद्यार्थी अनुत्तीर्ण भएका छन् । दुई विषयमा अनुत्तीर्ण हुने विद्यार्थीले साउन १८ र १९ गते पुरक परीक्षा दिन पाउने भएका छन् ।

यो वर्ष १ लाख १५ हजार ८३४ जना विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अध्यक्ष महाश्रम शर्माले एक विषयमा पुरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या ६७ हजार ७९३ रहेको बताए । त्यस्तै ४८ हजार ३८ जनाले दुई विषयको पुरक परीक्षा दिनेछन् ।


सम्बन्धित समाचार