Logo

१४असार,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही असार २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सरकारबाट नियुक्त भएको २९ औं दिनमा मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिने तयारी गरेका छन् ।

सरकारमा सहभागी ६ दलको सल्लाह अनुसार आउने २१ गते विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री सिंहले बताएका छन् । उनी भन्छन्,‘हामी विश्वासको मत अझ अगाडि नै लिन्थ्यौं, तर बीचमा धेरै महत्वपूर्ण कामहरु गर्नुपर्ने भयो । समयको अभाव भयो, त्यसकारण हामीले सबै अवस्थाको मध्यनजर गर्दै २१ गते विश्वासको मत लिने तयारी गरेका छौं ।’

संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्री सिंहले संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसबमोजिम मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनतम पार्टीको तर्फबाट सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिइन् ।

प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गर्दा मुख्यमन्त्री सिंहले आफ्नो पक्षमा ५५ जना सांसदहरुको समर्थन रहेको दाबी पेस गरेका थिए । त्यसबखत उनले एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको समर्थनसहित हस्ताक्षर पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।

त्यही अनुसार अहिले मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारमा मन्त्रीमण्डल पनि विस्तार गरेका छन् । यो अंकगणितले मुख्यमन्त्री सिंहको सरकारले विश्वासको मत पाउने पक्का छ । कारण–मधेश प्रदेशमा अहिले ६ दल मिलेर सरकार गठन भएको छ । त्यस अनुसार प्रदेश सभामा एमालेका २४, माओवादीका ९, जनमतका १३, एकीकृत समाजवादीका ७, राप्रपाका १ र नेपाल संघीय समाजवादीका एक जना प्रदेश सांसद छन् ।

यसलाई आधार मानेर जोड्ने हो भने मुख्यमन्त्री सिंहलाइ ५५ जना सांसद समर्थन रहेको देखिन्छ, जुन आवश्यकता भन्दा बढी हो । मुख्यमन्त्री सिंहले सरकार टिकाउन ५४ जना प्रदेश सांसदहरुको समर्थन चाहिन्छ ।


सम्बन्धित समाचार