२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।
बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।
नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।
सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।