Logo

२१ असार,वीरगञ्ज । सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बाटो निर्माण गर्दा उनीहरूले १२ लाख सात हजार २६० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले कुसियैतसहित नवराजपुर गाउँपालिकाका इन्जिनियर कृष्णा साह, सब इन्जिनियर सन्तोषकुमार यादव, लेखापाल सोमप्रसाद आचार्य, उपभोक्ता समितिका अध्यक्ष जीवछकुमार यादव, कोषाध्यक्ष पुनमकुमारी देवी, सचिव रामउदगार मण्डल र नवराजपुर गाउँपालिकाको वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष खुसीलाल साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा नवराजपुर गाउँपालिका–२ स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म सडक ग्राभेल गर्ने कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा उनीहरूले नापी किताबमा उल्लेख भएबमोजिम फिल्डमा काम नगरी झुट्टा बिल बनाएर १२ लाख सात हजार २६० रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

 


सम्बन्धित समाचार