Logo

२५ असार,काठमाडौं । क्यानडा प्रहरीले पियर्सन विमानस्थलबाट हराएको २ अर्ब रुपैयाँ मूल्यको सुनको इँटा अब नभेटिने स्वीकार गरेको छ । गत वर्ष १७ अप्रिलमा टोरन्टोको पियर्सन एयरपोर्टमा रहेको क्यानडा कार्गो टर्मिनलबाट ६ हजार ६ सय सुनको बार चोरी भएको थियो । प्रहरीले ३ दिनपछि सुन चोरी भएको थाहा पाएको थियो ।

यी सुनको इँटाको तौल ४०० किलो थियो। त्यतिबेला यी इँटाको मूल्य २० मिलियन क्यानडियन डलर (नेपाली रुपैयाँमा करिब २ अर्ब रुपैयाँ) थियो। चोरी भएको सुनको इँटा अहिलेसम्म बरामद भएको छैन । क्यानडा प्रहरीले यो सुन भारत र दुबई पुगेको हुन सक्ने आशंका व्यक्त गरेको छ ।

क्यानडा प्रहरीले यो चोरी नेटफ्लिक्सको क्राइम सिरिज स्टाइलमा गरिएको जनाएको छ । जसमा विमानस्थलको कार्गो सेन्टरबाट सुन र नगद चोरी भएको थियो । यो सुन स्विजरल्याण्डबाट क्यानडाको एयरपोर्ट पुगेको ४२ मिनेटमै चोरी भएको थियो ।

प्रहरीले निकै चलाखीपूर्वक कन्टेनरलाई बाहिर सारिएको बताएको छ। घटनाको तीन दिन पछि अप्रिल २० मा यो पूरै कार्गो चोरी भएको पत्ता लाग्यो। यो चोरी गर्न नक्कली रसिद प्रयोग गरिएको थियो। यस चोरी मुद्दामा पक्राउ पर्नेमा भारतीय मूलका तीन जना पनि रहेको प्रहरीले जनाएको छ ।

पील क्षेत्रीय प्रहरी (पीआरपी) का प्रमुख अनुसन्धानकर्ता डिटेक्टिभ सर्जेन्ट माविटीले बताएअनुसार चोरी भएको सुनको ठूलो हिस्सा विदेशका सुन बजारमा गएको छ । जहाँ सिरियल नम्बरसहित सुन लिइन्छ र पछि पगालिन्छ।

यो सबै काम चोरीको घटना लगत्तै भएको हुनुपर्छ भन्ने विश्वास गरिएको माविटीले बताए । पिल क्षेत्रीय प्रहरी (पीआरपी) ले यसअघि यो क्यानडामा भएको सबैभन्दा ठूलो सुन चोरी भएको बताएको थियो। यो चोरीलाई ‘प्रोजेक्ट’ नाम दिइएको थियो ।

यस घटनामा पक्राउ परेकाहरुको जानकारी दिँदै प्रहरीले एयरलाइन्सका दुई कर्मचारीको सहयोगमा यो चोरी गरेको बताएको थियो । अहिले ती कर्मचारीमाथि मुद्दा चलिरहेको छ । यो सुन पगालेर सुनको ब्रेसलेट बनाएर बेच्ने गरिएको प्रहरीले जानकारी दिएको छ ।

 


सम्बन्धित समाचार