Logo

२७ असार,काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

बिहीबार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति जारीगरी शुक्रबार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका हुन् ।

‘असार २८ गते विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका माननीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको छ,’ लेखेकको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभामा कांग्रेसका ८८ जना सांसद छन् । असार १७ गते राति एमालेसँग मिलेर सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । एमाले र जसपाले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेससँगको सहमतिपछि एमाले अध्यक्ष केपी ओली पहिलो दुई वर्ष प्रधानमन्त्री बन्दैछन् । त्यसपछिको डेढ वर्षमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।

यसअघि चारपटकसम्म विश्वासको मत पाए पनि पाँचौपटक भने प्रचण्डले विश्वासको मत नपाउने निश्चित देखिएको छ ।


सम्बन्धित समाचार