Logo

२९ असार,काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा कांग्रेसबाट मन्त्री बन्ने तीन जनाको नाम लगभग टुंगो लागेको छ । कांग्रेसबाट अहिलेसम्म प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणा देउवा मन्त्री बन्ने लगभग पक्का भएको कांग्रेस स्रोतको दाबी छ ।

ओली नेतृत्वको सरकारमा कांग्रेसको भागमा ९ मन्त्रालय पर्ने मोटामोटी सहमति भएको छ । ‘कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ वटा मन्त्रालय पर्ने समझदारी भएको बुझेका छौं । कांग्रेसबाट प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणाको नाम मात्रै टुंगो लागेको छ,’ कांग्रेसका एक नेताले भने, ‘उहाँहरूबाहेक अन्य धेरै सांसद मन्त्रीको लागि दाबेदार छन् तर, नाम टुंगो लागेको छैन । आज बस्ने कार्यसम्पादन समितिको बैठकपछि सभापतिजीले नै अन्तिम नाम टुंगो लगाउनुहुन्छ ।’

अहिलेसम्म सिंहको नेतृत्वमा सरकारमा जाने कांग्रेसको तयारी छ । तर, उनले रक्षा वा संघीय मामिला कुन मन्त्रालय लिने भन्ने टुंगो नलागेको स्रोत बताउँछ । लेखकले गृह र आरजुले परराष्ट्र मन्त्रालयको नेतृत्व गर्ने लगभग टुंगो लागेको कांग्रेस स्रोतले दाबी गर्यो । देउवा पत्नी आरजु पहिलोपटक मन्त्री बन्न लागेकी हुन् ।

आइतबार साँझ मात्रै केपी ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको तयारी छ । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । उनको विपक्षमा १९४ मत परेको थियो । लगत्तै राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गरेका थिए । अहिले उनैले काम चलाउ सरकारको नेतृत्व गरिरहेका छन् ।
प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा परेको १९४ मत मध्ये कांग्रेसको ८८ र एमालेको ७८ सांसद थिए । यिनै दुई दलले १६६ मतसहित सरकारमा दाबेदारी गरेका हुन् ।

कांग्रेस र एमालेबीच पहिलो दुई वर्ष केपी ओली र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने समझदारी बनेको छ ।

कांग्रेसबाट को–को छन् मन्त्रीका आकांक्षी ?
कांग्रेसले ९ मन्त्रालय पाउँदा सिंह, लेखक र आरजुबाहेक थुप्रै सांसद मन्त्रीका दाबेदार छन् । कांग्रेसबाट मन्त्रीका लागि संस्थापन र इतर समूहबाट दाबेदार देखिएका हुन् । कांग्रेसले ९ वटा मन्त्रालय पाए इतर पक्षले बढीमा तीनवटा पाउनेछ ।

कोशीबाट दीपक खडका र रामहरि खतिवडा मुख्य दाबेदार छन् । खड्का डा. शशांक कोइराला निकटका हुन् । खतिवडा देउवानजिक छन् । मधेशबाट अजयकुमार चौरसिया र तेजुलाल चौधरी दाबेदार छन् । चौरसिया संस्थापन निकटका हुन् ।

बागमती प्रदेशबाट युवा नेता प्रदीप पौडेल, उदयशमशेर राणा र रामनाथ अधिकारी दाबेदार छन् ।

गण्डकीबाट जीवन परियार र शंकर भण्डारी दाबेदार रहेको एक नेताले जानकारी दिए । संस्थापन इतरबाट चन्द्र भण्डारी र हृदयराम थानी मन्त्रीका दाबेदार छन् । बद्रि पाण्डे, वीरबहादुर बलायर, ईश्वरी न्यौपाने र किशोरसिंह राठोर पनि मन्त्रीका दाबेदार हुन् ।

कांग्रेसमा यसपटक नयाँलाई मन्त्रीमा अवसर दिनुपर्ने माग छ । अघिल्लोपटक मधेश, दलितसहितको प्रतिनिधित्व नभएको भन्दै यससपटक समावेशी बनाउन पनि दबाब भएको एक नेताले बताए ।

यसैबीच, सरकारमा सहभागी हुने मन्त्री छान्ने मापदण्डसहित विषयमा छलफल गर्न कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज २ बजे बस्ने बैठकले सरकारमा सहभागी हुने मन्त्री चयनको मापदण्डसहित विषयमा छलफल गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । कांग्रेसले पाउने संख्या र यसमा समूहको कति हो भन्ने पनि प्रष्ट नहुँदा शेखर कोइराला पनि अलमलममा रहेको उनी निकटका एक नेता बताउँछन् ।

‘कांग्रेसले पाउनेमा आफूहरूको हिस्सा कति हो भन्ने प्रष्ट नहुँदा शेखर समूह पनि अलमलमै छ,’ एक नेताले भने, ‘कार्यसम्पादन समितिको बैठकपछि एउटा आकार आउँछ । त्यसपछि भोलिसम्म टुंगिने आशा गरेका छौं ।’साभार लोकान्तर


सम्बन्धित समाचार