Logo

तस्बिर :कृष्ण आचार्य / रासस

३० असार, वीरगञ्ज । नवलपरासी गैंडाकोट नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएका दुईमध्ये एक शव शुक्रबार बिहान चितवन सिमलताल पहिरोमा परेर त्रिशुली नदीमा हराइरहेको बसका यात्रुकै भएको पुष्टि भएको छ ।

दुईमध्ये एक शव काठमाडौंबाट गौर आइरहेको बसका यात्रु १९ वर्षीय रमितकिशोर माझीको भएको उनका बुबाले पुष्टि गरेको चितवन जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

सिमलतालको पहिरोमा परेर दुईवटा बस त्रिशूलीमा हराइरहेका छन् । एउटामा २४ र अर्कोमा २७ जना यात्रु रहेको विवरण चितवन जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ । तीमध्ये तीन यात्रुमात्र सकुशल रहेका छन् ।

हराइरहेको बसमा रहेका अरू यात्रीमध्ये हालसम्म दुई जनाको शव फेला परेर आफन्तले सनाखत गरेका छन् ।

हराइरहेका बस र यात्रुको खोजी कार्य हिजो साँझबाट स्थगित भएको र आज बिहान आठ बजेबाट खोजी सुरू हुने प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।


सम्बन्धित समाचार