Logo

असार ३० गते । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।

परियारको भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा परेका थिए । परियारको शवको पोष्टमार्टम हुन भने बाँकी छ ।

यसैगरी, माझी काठमाडौँबाट सर्लाही जाँदै गर्दै दुर्घटनामा परेका हुन्  ।

यसअघि, शनिबार पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा उहाँको पहिचान खुलेको थियो ।

यद्यपी, प्रहरीले सार्वजनिक गरेको बसको चलानीमा परियार र माझीको नाम उल्लेख गरिएको छैन । उनीहरु चलानी काटी सकेपछि  बिच बाटोबाट बसमा चढेका बताईन्छ  ।

शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडकखण्डको सिमलतालमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता छ ।

आइतबार तेश्रो दिन पनि बिहानैदेखि उद्धारकर्मी हराइरहेका बस र यात्रुको खोजीमा जुटेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली बिहानैबाट त्रिशूली नदीमा खोज कार्यमा जुटेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले अहिलेसम्म चितवनको मेघौली गोलाघाट र नवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा  तीन जना यात्रुको शव भेट्नु बाहेक अन्य ठोस कार्य हुन नसकेको बताए । उनले अत्याधुनिक उपकरणहरुसहित गोताखोरहरुको समेत खोज कार्यमा संलग्नता रहेको बताए ।

केन्द्रीय सुरक्षा समिति घटनास्थल आउँदै

गृह मन्त्रालयका सचिव एक नारायण अर्यालको नेतृत्वमा केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुले आइतबार उद्धार तथा खोज कार्यको अनुगमन  गर्ने भएका छन्  ।

उद्धार तथा खोज कार्यलाई थप तीव्रता र प्रभावकारी बनाउन केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुले अनुगमन गर्न लागेका हुन् । गृह सचिवसहित प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतका पदाधिकारीहरु चितवन आउदै छन् । उनीहरु घटना स्थल पुगेर उद्धार र खोज कार्यको अनुगमन गर्ने  मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए ।

उनले हराइरहेका दुवै बसमा गरी कम्तीमा ६४/६५ जना यात्रु रहेको सूचना आफूहरुलाई रहेको बताउदै धमिलो पानी र पानीको बहाव बढी हुँदा उद्धारमा समस्या परेको बताए।

“विदेशबाट नयाँ नयाँ प्रविधि र दक्ष गोताखोर ल्याउनेकुरामा समस्या छैन । तर काम गर्न धमिलो पानी र पानीको बहावले समस्या भइरहेको हो”, उनले भने । उनले खोज कार्य प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिएको पनि बताए ।

दुर्घटनाग्रस्त बसका यात्रुहरुको शव ५० किलो मिटरसम्म टाडा भेटिएको घटनाले केही शवहरु बगाएको हुन सक्ने आङ्शका गरिएको छ । बेपत्ता भएका बस भने घटना स्थलभन्दा धेरै टाढा  नरहेको उनको बुझाइ छ । बस फेला परे बसमा च्यापिएका  र भित्र रहेका यात्रुहरुको मृत शरीर निकाल्न सकिने उनको भनाई छ ।


सम्बन्धित समाचार