Logo

३१ असार,काठमाडौं । नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ । एमाले उच्च स्रोतका अनुसार उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले सम्हाल्नेछन् ।

पृथ्वीसुब्बा गुरुङलाई सूचना प्रविधि तथा सञ्चार मन्त्रालय दिने टुंगो लागेको एमाले उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । स्रोतका अनुसार विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्दैछिन् ।

यसैगरी एमालेबाट दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन र बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने भएका छन् । देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने छन् भने मानविर राई रक्षा मन्त्री बन्ने भएका छन् ।

सत्ता साझेदार कांग्रेसको भागमा गृहसहित परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, ऊर्जा, जलस्रोत तथा सिँचाइ र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय परेका छन् । कांग्रेसले मन्त्री बन्नेको अन्तिम टुंगो लगाई सकेको छैन ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने कार्यक्रम छ ।

यसअघि राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

ओलीको यो चौथो कार्यकाल हो । यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री भएका थिए । असार १७ गते राति कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेका थिए ।

हेर्नुहोस् एमालेबाट मन्त्री बन्नेहरूको सूची

१ उपप्रधानसहित अर्थमन्त्री : विष्णु पौडेल

२ सूचना प्रविधि तथा सञ्चार मन्त्री : पृथ्वीसुब्बा गुरुङ

३ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री : दामोदर भण्डारी

४ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री : राजकुमार गुप्ता

५ भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री : बलराम अधिकारी

६ भौतिक पूर्वाधार तथा यातायात मन्त्री : देवेन्द्र दाहाल

७ रक्षा मन्त्री :  मानविर राई

८ शिक्षा, विज्ञान तथा प्रविधि: विद्या भट्टराई

 


सम्बन्धित समाचार