Logo

१ साउन, काठमाडौं । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । सोमबार राती आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बाढीबाट ७ जना घाइते भएका छन् ।

नगरपालिकाको वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए ।

बेपत्ता हुनेमा ४० वर्षीय डिल्ली बुढाथोकी रहेको प्रमुख रवि केसीले बताए । घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना कामी छन् । उनीहरुलाई राती नै उद्धार गरेर आठबिसकोटको नगर अस्पताल लगिएको थियो ।

घटनास्थलमा इलाका प्रहरी पोष्ट आठबिसकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली तुरुन्तै खटिएको थियो भने सदरमुकामबाट नेपाली सेना र सशस्त्र प्रहरीको टोली आज बिहान घटनास्थल पुगेको छ । आठबिसकोट नगरपालिका १२ को भिमचौरमा गिजा खोलाको बाढीले ६ वटा घर र खेतबारी बगाएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार