Logo

३ साउन, वीरगञ्ज । यातायात व्यवस्था कार्यालय कलैया बाराले चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा ३ करोड ४८ लाख ५३ हजार राजस्व संकलन गरेको छ ।

बाराको कलैयामा गत मंसिर २५ गते यातायात ब्यवस्था कार्यालयको उद्घाटन भई पौष १२ गते देखि सञ्चालनमा आएको हो । त्यसयता कार्यालयले संचालनमा आएको सात महिनाको अवधीमा ३ करोड ४८ लाख ५३ हजार ३ सय ८६ रुपैया राजश्व संकलन गरेको जनाएको छ ।

कार्यालयले राजस्व शिर्षकको यातायात आम्दानीमा १४ लाख ७८ हजार २५० रुपैया, अन्य प्रशासनिक सेवा शुल्कमा १६ हजार पाँच सय, चालक अनुमती पत्र, सवारी दर्ता किताब सम्बन्धि दस्तुरमा एक करोड १९ लाख चार हजार ५१० रुपैया र सवारी साधन करमा दुई करोड १४ लाख ५४ हजार १२६ गरी जम्मा ३ करोड ४८ लाख ५३ हजार ३८६ रुपैया राजश्व संकलन गरेको यातायात कार्यालय कलैयाका प्रमुख महम्मद नवाज हुसैनले जानकारी दिए ।

यातायात ब्यवस्था कार्यालय कलैयाले यहि फागुन २३ गते देखि नयाँ तथा वर्ग थप सवारीचालक अनुमति पत्रको लागि अनलाइन दरखास्त आहवान गर्ने गरेको छ । भने चैत्र ५ गतेदेखि सवारी चालक अनुमति पत्रको लागि लिखित तथा प्रयोगात्मक परिक्षा संचालन गरिरहेको प्रमुख हुसैनले बताए ।

हुसैनका अनुसार छोटो समयमा नै यस कार्यालयवाट दुई हजार दुई सय ५० वटा नयाँ सवारी चालक अनुमती पत्र बितरण गरी ३५ लाख ३३ हजार राजश्व संकलन गरीएको छ । भने सवारी चालक अनुमती पत्रमा थप शिर्षक (क्याटोगोरी) मा ५ सय ३० वटा वितरण गरी दुई लाख ६५ हजार राजश्व संकलन गरीएको छ ।

यस्तै थप शिर्षक (क्याटोगोरी) सवारी चालक अनुमती पत्रको १हजार ५ सय ५४ आवेदनबाट ईन्ट्री फि सात लाख ७७ हजार, नयाँ सवारी चालक अनुमती पत्रको ६ हजार आठ सय ८८ आवेदनबाट ईन्ट्री फि ३४ लाख २२ हजार पाँच सय राजश्व संकलन गरीएको जानकारी महम्मद हुसैनले दिए ।

हुसैन भन्छन् “कार्यालयमा आउने सेवाग्राहीलाई हामीले मुस्कान सहितको सेवा छिटो छरितो प्रदान गर्दछौं । त्यसकारण छिमेकी जिल्ला रौतहटबाट पनि सेवाग्राहीहरु सेवाका लागी आउने गरेका छन् ।”

यातायात व्यवस्था कार्यालय संचालनमा आएसँगै बाराबासीलाई खेप्नुपर्ने सास्तीको अन्त्य भएको छ । जिल्लामै कार्यालय स्थापना हुँदा बाराबासीले सवारी अनुमति पत्र, सवारी दर्ता, नविकरण जस्ता काममा सहज भएको छ । सेवाका लागि अन्य जिल्लामा जानुपर्ने र महिनौ सम्म कुर्नुपर्ने समस्या हटेको छ । यातायात व्यवस्था कार्यालय कलैयाबाट नै नयाँ लाईसेन्स लिनेदेखी सवारी नविकरण जस्ता सेवाहरु लिन बाहिर जानु नपर्ने भएको छ । भने सेवाग्राहीहरु सेवा लिन कार्यालयमा पुगि सहज रुपमा सेवा पाउने गरेका छन् ।

 


सम्बन्धित समाचार