Logo

१० साउन, काठमाडौं । सरकारले सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा नेपाल वायु सेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा. सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल सदस्य रहने गरी आयोग गठन गरेको प्रवक्ता गुरुङले बताए ।

आउँदा दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा सञ्चालन गरिरहेका सबै वायु सेवा सञ्चालक कम्पनीहरूलाई हवाईजहाजको अनिवार्य परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको अनुगमन गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले बताए ।

यस्तै मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एयरलाइन्स दुर्घटना भएको छ । यसअघि २०७९ माघ १ गते काठमाडौँबाट उडेको विमान पोखरामा दुर्घटना भएको थियो ।

त्यसपछि मानवीय क्षति हुने गरी बुधबार दुर्घटना भएको हो । यस क्रममा विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु घटनास्थलमा नै भएको छ । पाइलट मनिषरत्न स्थापित भने खतरामुक्त बनेका छन् ।

पोखरामा प्राविधिक परीक्षणका लागि उडान भरेको विमानमा कर्मचारीमा नाम राखेर १९ जना चढेका थिए । कम्पनीको वेबसाइटमा राखिएको सूचीअनुसार ५ जना व्यवस्थापक टिममा भएको पाइएको छ ।


सम्बन्धित समाचार