Logo

२० साउन,काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठीले भ्रष्टाचार काण्डले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)लाई रातारात मिलाएको आरोप लगाएका छन् ।

आफ्नो नेतृत्वको जनता प्रगतिशील पार्टी नवलपरासी क्षेत्र नं. १ ले शनिवार प्रतापपुरको बेलाटारीमा आयोजना गरेको कार्यकर्ता सम्मेलनलाई सम्बोधन गर्दै उनले बाँसबारी काण्डदेखि गिरीबन्धु चिया बगानसहितका १४ वटा भ्रष्टाचारका मुद्दा बाहिर आउन थालेपछि दुई ठूला पार्टीले रातारात गठबन्धन गरेको आरोप लगाए ।

सबैभन्दा बढी कांग्रेस–एमाले नै सत्तामा रहेको र उनीहरूले नै ठूला भ्रष्टाचार गरेको नेता त्रिपाठीको भनाइ थियो । संविधान संशोधनको बहाना बनाएर भ्रष्टाचारलाई ढाकछोप गर्न अहिले उनीहरूले गठबन्धन गरेको भन्दै उनले कटाक्ष गरे ।

पछिल्लोपटक ८ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेका उद्योगलाई पनि विद्युत् लाइन जोड्न दिने विषयले पनि यी दुई ठूला पार्टी भ्रष्टाचारलाई ढाकछोप गर्न एकजुट भएको प्रष्ट हुने त्रिपाठीको तर्क थियो ।

‘संविधान संशोधन गर्छौँ भनेर सत्तामा गएका छन् । त्यसको स्वागत गर्छौँ । तर, अहिले भएका जनताका अधिकार कटौती गर्छन् वा नपाएका अधिकारलाई संविधानमा समावेश गर्छन्, त्यसलाई नजिकबाट हेरेका छौं,’ उनले भने ।

समानुपातिक प्रणालीका कारण सरकार स्थायी भएन भन्नु गलत भएको त्रिपाठीको तर्क थियो । ‘समानुपातिक आफैंमा खराब होइन तर आफन्त र पैसा हुनेलाई राख्दा प्रणाली नै खराब भएको सन्देश दुई पार्टीले दिएका छन् । त्यसैले समानुपातिकको मर्मअनुसार अघि बढ्न जरुरी छ,’ उनले थपे ।


सम्बन्धित समाचार