Logo

७ पुष ,वीरगन्ज । पर्सा राष्ट्रिय निकुञ्ज, आधाभारले गएको सोमबार राति पक्राउ गरेको पाँचजना शिकारी सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालको घरबाट पक्राउ परेको खुलेको छ ।

पूर्व अध्यक्ष जैसवालले सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुनियामा विश्रामको लागि घर निर्माण गरेको र सोही घरबाट निकुञ्जले मारिएका दुईवटा जरायो, केही थान हतियार, नगदसहित पाँच जनालाई पक्राउ गरेको थियो ।

यस घटनामा निकुञ्जले बरामद गरेको प्रदेश २–०३–००१ च ३०९७ नम्बरको गाडी सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालको रहेको बताएको छ । जैसवालका दाई प्रमोद जैसवाल पर्सा निर्वाचन क्षेत्र नंं ३(क)बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

घटनाका सम्वन्धमा सखुवा प्रसौनीका पूर्व अध्यक्ष प्रदीप जैसवालले गाडीको ड्राइभरले बदमासी गरेको आरोप लगाएका छन् । उनले गाडीको ड्राइभरले गाडी लिएर गएको बिषय आफूलाई सूचना नगरेको बताएका छन् । यता जैसवालले घटनामा समातिएको आफ्नो कम्पनीको नाउँमा रहेको बोलेरो गाडी चोरी भएको भनेर प्रहरीमा उजूरी दिने प्रयास भएको प्रहरी स्रोतले बताएको छ ।

निकुञ्जले पक्राउ गरेपछि फिल्मी शैलीमा सो गाडी घटनाअगावै चोरी भएको देखाउन खोजिएको थियो तर प्रहरीले उजुरी नलिएकोले जैसवाल दाजु भाई यो घटनाबाट जोगिन पूर्व बनमन्त्री प्रदीप यादवको शरणमा गएको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जनाएका छन् ।

यादवले सामाजिक सञ्जाल मार्फत राष्ट्रिय निकुञ्जमा चोरीशिकारी गर्नेकाम जैसवाल दाजुभईबाट विगत लामो समय देखि हुदै आएको र अहिले अपराध लुकाउन पूर्व बनमन्त्रीको साथमा पुगेको बताएका छन् ।

तर प्रहरीले घटनामा गाडी बरामद भइसकेको अवस्थामा सो उजूरी लिन नमानेको प्रहरी स्रोतको भनाई छ । घटनामा पक्राउ परेका पाँचजना शिकारीमध्ये लक्ष्मण सहनी पर्सा जिल्लाका चर्चित गाँजा तस्कर हुन् । उनले आफ्नो नाम विशाल सहनी भनेर झुक्याउन खोजेका छन् ।

निकुञ्जले पनि घटना विवरण सार्वजनिक गरे पनि जैसवाल दाजुभाइलाई भने गोप्य राखेको छ ।

अहिले घटनामा बरामद बोलेरो गाडी चोरी भएको भनी प्रहरीमा उजूरी दिने प्रयासमा प्रदेशसभा सदस्य जैसवाल र पूर्व गाउपालिका अध्यक्ष प्रदीप जैसवाल रहेको स्रोतले जनाएको छ । एकजना प्रहरीले जयसवालले चोरीको झूटो उजूरी दिन आएको तर सो उजूरी प्रहरीले लिन नमानेको बताए ।

निकुञ्जले घटना सार्वजनिक गरिसकेको अवस्थामा बरामद गाडी चोरी भएको भनेर प्रहरीले उजूरी लिन मानेको छैन ।


सम्बन्धित समाचार