Logo

१३ भदौ,सेढवा । २०७६ साल असोजमा पर्सा तथा बारा जिल्ला सहित राज्यलाइ नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरियो । तर पर्साका ग्रामीण भेगमा अधिकांश सामूदायिक विद्यालयका बालबालिकाहरु अहिले पनि खुल्ला रुपमा दिसापिसाब गर्ने गर्दछन् ।

कतिपय सामूदायिक विद्यालयमा शौचालय अभाव हुदाँ शिक्षक, कर्मचारी तथा त्यहाँ अध्ययनरत बालबालिकाहरुले जथाभावी शौच गर्न बाध्य हुनुपरेको गुनासो बढ्दो छ। शौचालयको पर्याप्त व्यवस्था नहुँदा निकै सास्ती भोग्नु परेको उनीहरु बताँउछन् ।

नाम नखोल्ने शर्तमा एक महिला शिक्षकले विद्यालय समयमा शौच गरेन कहाँ जाने ? कता कुद्ने ? खुल्ला रुपमा कसरी दिसापिसाब गर्ने ? भन्ने विषयले दिनँहु पिरोल्ने गरेको गुनासो गरिन् ।

जथाभावी दिसापिसाब गर्न झाँडीमा पस्दा सर्प तथा किराले टोक्ने डर रहने उनको भनाइ थियो ।

कतिपय शौचालय प्रयोगविहिन :-

जिल्लाका अधिकांश सामूदायिक विद्यालयहरुमा शौचालय भएपनि संरक्षण तथा सरसफाईमा बेवास्ता गरिदिँदा प्रयोगविहिन छन् ।

लाखौँ मूल्य बराबरको लगानीमा निर्माण भएका ति शौचालयहरु संरक्षणका अभावका कारण प्यान तथा टायल फुटेका, पानी आउने नल भाच्चिने लगायतका समस्याले अलपत्र छन् । साथै सरसफाईका लागि विद्यालयले चासो नदेखाँउदा प्रायः जसो बालबालिकाहरु खुल्ला रुपमै दिसापिसाब गर्न जाने गर्दछन् ।

कतिपय ठूला विद्यालय प्रशासनले भने शौचालय सरसफाईका लागि सातामा ज्यामी लगाउने गरेका बताएका छन् ।

छिपहरमाई गाउँपालिकाका मंगल मावि भिस्वाका प्रधानाध्यापक दिनेश पटेल विद्यालयका शौचालय सरसफाईका लागि सातामा दुई पटक ज्यामी लगाउने गरेको बताउँछन् ।

त्यस्तै नेरा मावि भिखमपुरका एक जना शिक्षकका अनुसार विद्यालयको अनुपातमा शौचालय अभाव छ । करिब एक हजार पाँच सय विद्यार्थी अध्ययनरत विद्यालयमा चार कोठाको शौचालय रहेको उनले जानकारी दिए ।
जसमा दुई वटा छात्रा र दुई वटा शौचालय शिक्षक कर्मचारीहरुले प्रयोग गर्ने गरेको उनी सुनाँउछन् ।

अन्य विद्यार्थीहरु भने खुल्ला रुपमै जथाभावी शौच गर्न बाध्य रहेको उनले बताए ।

ठूला विद्यालयले जसोतसो शौचालयको सरसफाई गर्दै आएको भएपनि प्राथमिक विद्यालयका शौचालयको अवस्था भने दयनिय छ । कतिपय विद्यार्थीहरुले त विद्यालयको भित्ता तथा बारीमा गई दिसापिसाब समेत गर्ने शिक्षकहरु बताउँछ्न् ।

पटेर्वासुगौली गाउँपालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पंजियारले पालिका भित्रका एक वटा शौचालय जीर्ण बनेको स्विकार गरे । त्यसको मर्मत कार्यमा जुटेको उनको भनाइ थियो ।

शौचालयको सरसफाईको जिम्मा सम्बन्धित विद्यालयलाई नै दिइएको बताँउदै उनले सोको खर्च भने पालिकाले उपलब्ध गराउँदै आएको जानकारी दिए ।

 

 


सम्बन्धित समाचार