Logo

१३भदौ,वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा एकपछि अर्को विवाद बढ्दै गएको छ ।

केहीदिन अघि विद्यालयकी शिक्षिकालाई हाजिर हुन नदिएको विवाद साम्य भएको केही दिनमै जनप्रतिनिधिहरुले बिहीबार फेरी प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै बन्दी बनाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले कर्मचारीहरुको जथाभावी सरुवा गरेको भन्दै असन्तुष्ट जनप्रतिनिधिाहरुले विरोध गरेपछि विवाद बढेको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रवक्ता भोज बहादुर खत्री (ईश्वर)ले बताए ।

उनका अनुसार जीतपुर सिमरा उपमहानगरपालिकामा नगरसभादेखि नै एमाले र कांग्रेसका वडा अध्यक्षहरुले विवाद गर्दै आएको र त्यसकैको अर्को श्रृंखलाको बिहीबार देखिएको हो ।

नगरसभा नियमसँगत नगरेको भन्दै उपप्रमुख सहितका कार्यपालिका सदस्यहरुले विरोध गर्दै आएपनि नगर प्रमुख राजन पौडेलले २५ प्रतिशतको उपस्थितिलाई गणपुरक संख्याको मान्यता दिने सर्वोच्च अदालतको नजिर र नगरसभा सञ्चालन नियमावली अनुसार नगरसभा सम्पन्न गरेपछि आक्रोशित उनीहरुले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्न जोडबल लगाएका थिए ।

उपप्रमुख सहित एमालेका वडा अध्यक्ष तथा नेताहरु मन्त्रालय र पार्टीको संसदीय दलका नेताहरुलाई समेत भेटेर प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराउन चाहेका थिए ।

तर, नगरप्रमुख राजन पौडेलले प्रमुख प्रशासकीय अधिकृतको सरुवा नियम संगत नहुने भन्दै प्रधानमन्त्रीको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलमा समेत सरुवा रोक्न ध्यानाकर्षण सहित पत्राचार गरेका थिए ।

त्यो विवाद उच्च अदालतको अस्थायी इजलाश वीरगन्जसम्म पुगेर अदालतले समेत उपप्रमुख सहितका कार्यापालिका सदस्यहरुले दिएको रिट खारेज गरेको थियो ।

त्यहि तुषलाई उपमहानगरका एमाले र कांग्रेसका वडा अध्यक्षहरुले अहिलेसम्म राजनीतिक प्रतिसोधका रुपमा लिएका छन् ।
झण्डै ६ घण्टा कार्यकक्षमै थुनिएकी प्रमुख प्रशासकीय अधिकृतलाई सुरक्षाकर्मीहरुको सहयोगमा बाहिर निकालिएको हो ।

जनप्रतिनिधिहरुले कार्यकक्षमै घेरेर बाहिर निस्कन नदिएपछि सुरक्षाकर्मीले बल प्रयोग गर्ने चेतावनी दिएको र जनप्रतिनिधिहरुले १० मिनेट आफ्ना कुराहरु प्रमुख प्रशासकीय अधिकृतसमक्ष राखेपछि प्रमुख प्रशासकीय अधिकृत बाहिर निस्किन पाएका थिए ।


सम्बन्धित समाचार