Logo

१० पुष, वीरगञ्ज । बैंकहरुको चर्को ब्याजदर, नेपाल राष्ट्र बैंकको चालू पुँजी कर्जा सम्वन्धी निर्देशिकाको विरोधमा मधेस प्रदेशमा क्रियाशिल उद्योग वाणिज्य संघहरुले आन्दोलनको घोषणा गरेका छन् ।

चालू पुँजी कर्जा सम्बन्धी निर्देशिका २०७९ ले मुलुकमा आर्थिक संकटको प्रभाव गम्भीर रुपमा पारेको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा मधेस प्रदेशमा थप आन्दोलनको घोषणा गरेको हो । संघले आईतबार वीरगन्ज उद्योग वाणिज्य संघका सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर राष्ट्र बैंकले ल्याएको प्रावधानमा राज्य गम्भीर नभएको भन्दै अब आन्दोलनको विकल्प नभएको बताएका छन् ।

बैंकले बर्षमा चार पटक व्यालेन्स सिट मागेर हेरेर मात्रै कर्जा दिने गरेको भएपनि व्यावसायीहरुमाथि शंका गरेर व्यावसायीले कर्जाको दूरुपयोग गर्छ भन्नु दुखद भएको नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठले बताउनुभयो ।

कर्जा वाणिज्य बैंकहरुबाट लिने तर, राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई नहेर्ने व्यावसायीहरुलाई मात्रै विभिन्न कारणहरु देखाएर व्यावसायीलाई मार्ने काम मात्रै गरेको बताउनुभयो । कोरोनाबाट थलिएको व्यापार व्यावसाय केही लयमा फर्किदै गर्दा रुस–युक्रेन युद्धका कारण इन्धनमा भएको मूल्यवृद्धिले विश्व बजारमा महंगी थप बढेर आगो बलिरहेको समयमा राष्ट्र बैंकले चालू पुँजी कर्जा निर्देशिका २०७९ ल्याएर आगोमा घ्यु थपेको बताउनुभयो ।

पूँजी बजार निरन्तर ओरालो लाग्दै गएको, मुलुकभित्र रोजगारका अवसरहरु सृजना हुन नसकेको, पूँजीगत खर्च न्यून रहेको र देशको अर्थतन्त्रलाई धानिरहेको रेमिटान्समा गिरावटले अर्थ व्यवस्थालाई थोरै धानी रहेको निकासी व्यापार मुलुकको एउटा अँध्यारो कोठामा संकुचित हुन पुगे वीरगन्ज उद्योग वाणिज्य संघको निष्कर्ष छ ।

परिस्थिति अत्यन्तै कठिन बन्दै गई रहेको छ र मुलुक आर्थिक रुपले जर्जर हुने संकेत देखा परि रहेको अवस्थमा राज्यका निकायहरु, राज्य संचालन गर्ने भूमिकामा बसेकाहरुको भूमिकाहरु आशलाग्दा र उत्साहजनक नरहेको अनुभूति यतिखेर आम निजीक्षेत्रले मात्रै नभई आम सर्वसाधारण समेतले गरिरहेको संघले दावी गरेको छ ।

अर्थतन्त्रका परिसूचक ओरालो लागि रहेको, उद्योग व्यवापार पूर्ण क्षमतामा संचालन हुन नसकीरहेको कोभिड–१९ ले थिलथिलो पारेको समग्र क्षेत्रलाई उकास्नका लागि राज्यले तत्कालै प्रभावकारी भूमिका चाल्नु पर्छ भनेर पटक पटक सरोकारवालाहरुसँग प्रत्यक्ष भेटघाट गरेर सार्वजनिक रुपमै आफ्ना धारणा राख्दा पनि अहिलेसम्म सम्बोधन नभएकोले आन्दोलनमा जानुपर्ने बध्यता आईपरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुवोध गुप्ताले बताउनुभयो ।

संघले संस्थागत रुपमा निरन्तर दिदै आएको बुँदागत सुझाव र मागहरु पनि राखेको छ । बैंकहरुको चर्को ब्याज दरलाई एकल बिन्दुमा ल्याउनु पर्ने, बैंकको प्रिमियम दर बेस रेटको अधिकतम २० प्रतिशतसम्म थप्न पाउने व्यवस्था हुनु पर्ने, बैंकले कर्जामा बढाएको अव्यवहारिक प्रिमियम रकम फिर्ता गरिनु पर्ने, राष्ट्रिय रुपमा देखिएको आर्थिक तरलतालाई सम्बोधन गरिनु पर्ने सुझाव सहितको माग राखेका छन् ।

त्यस्तै चालु पूँजी कर्जाको मार्ग निर्देशिकालाई तत्कालै लागु नगरी आर्थिक सूचकांकमा अपेक्षित सुधार भए पश्चात् एकै पटकमा लागु नगरी क्रमबद्ध रुपमा लागु गरिनु पर्ने, चालु पूँजी कर्जाको सिमा रकम निर्धारित गर्दा अनुमानित वार्षिक कारोबारको ५० प्रतिशत रकमसम्म कायम गरिनु पर्ने, व्यवसायको प्रकृति हेरेर टि.आर. कर्जाको अवधिलाई ९० दिनबाट बढाएर १८० दिन गरिनु पर्ने लगायतका ६ बुँदे माग राखेका छन् ।

माग सम्बोधनका लागि सोमबार बिहान उद्योग वाणिज्य संघमा भेला भएर नेपाल राष्ट्र बैंकको वीरगन्ज स्थित कार्यालयमा पुगेर ब्यानर झुण्ड्याउने र विरोध गर्ने कार्यक्रम पनि रहेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । मंगलबार वीरगन्जको आदर्शनगर, माईस्थान लगायतका स्थानमा रहेका पसलहरुलाई झण्डा र कालोपट्टी वितरण गर्ने, बुधबार नेपाल राष्ट्र बैंक अगाडि १ घण्टा धर्नाको कार्यक्रम रहेको अध्यक्ष डाक्टर गुप्ताले बताउनुभयो ।


सम्बन्धित समाचार